राजनीति

देउवा सरकार ‘कम्फर्टेबल’ कि ‘डिफिकल्ट’ ?

समकक्षीहरु चुपचाप रहेर राजदूतहरुले मात्र बधाई दिनु संयोग मात्र नहुनसक्छ

प्रधानमन्त्री शेरबहादुर देउवालाई अहिलेसम्म नेपालका छिमेकी मुलुक भारत, चीन लगायत अन्य मित्र देशका समकक्षीहरुबाट बधाई तथा शुभकामना दिइएको छैन । यसअघि प्रधानमन्त्री भएको केही समयमै समकक्षीबाट बधाई तथा शुभकामना र भ्रमणको निम्तो आउने गरेकोमा यसपटक यो समाचार तयार पार्दा साउन १ गते विहानसम्म त्यस्तो सन्देश आएको छैन ।

नेपालको राजनीतिक इतिहामै पहिलोपटक अदालतको आदेशबाट प्रधानमन्त्री बन्न पुग्नुभएका नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवालाई सबैभन्दा पहिले अमेरिकी राजदूतले बधाई दिनुभयो । त्यसपछि भारतीय राजदूतले । तर चीनका राजदूतबाट पनि बधाई दिइएको छैन ।

भारतका लागि पनि कम्फर्टेबल सरकार बनाउने भन्दै प्रचण्डले देउवालाई अघि सारेका भए पनि भारतीय प्रधानमन्त्रीबाट बधाई आएको छैन । यसअघि २०७४ सालमा प्रधानमन्त्री बनेको केहीबेरमै भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले फोन गरेर बधाई दिनुभएको थियो । त्यस्तै ट्वीटमार्फत पनि बधाई दिनुभएको थियो ।

तर यसपटक भारतीय राजदूत र सत्रारुढ भारतीय जनता पार्टीका विदेश विभाग प्रमुखबाट मात्र बधाई आयो । चिनीयाँ राजदूताबास यसबीचमा चुपचाप छ भने चीनबाट कुनै प्रतिक्रिया नै आएको छैन ।

नेपालको पछिल्लो सत्ता परिवर्तनलाई छिमेकीले नरुचाएको संकेत दिएको छ । ओली सरकारले भारतलाई चिढ्यायो अब ‘भारतका लागि समेत कम्फर्टेबल सरकार बनाउनुपर्छ’ भनेर माओवादी केन्द्रका अध्यक्ष प्रचण्डले गरेको घोषणा अनुसार नै देउवा नेतृत्वको सरकार बने पनि छिमेकीले र अन्य मित्र राष्ट्रहरुले चासो नदिनुलाई संयोग मात्र मान्न सकिन्न ।

कूटनीतिक रुपमा कुनै प्रधानमन्त्रीलाई समकक्षीबाट शुभकामना तथा बधाई सन्देश नआउनुलाई त्यो सरकारलाई मान्यता नदिएको पनि ठान्ने गरिन्छ । प्रधानमन्त्री देउवालाई राजदूतहरुबाट बधाई ज्ञापन गरिनुलाई पनि अर्थपूर्ण रुपमा लिनुपर्ने कूटनीतिज्ञहरु बताउँछन ।

प्रतिक्रिया राख्नुहोस्

सम्बन्धित खबर

Back to top button