अर्थ

विद्यालय परिसरमै गरे विद्यार्थीले तरकारी खेती

प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना एकाइ भद्रपुरको साझेदारीमा तरकारी खेती गरेका छन्

झापा गाउँपालिका–६ शरणामतिमा रहेको जनता माध्यमिक विद्यालयका विद्यार्थीले प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना एकाइ भद्रपुरको साझेदारीमा तरकारी खेती गरेका छन् । कृषि बाली विज्ञान विषयमा अध्ययन गर्ने कक्षा ९ देखि १२ सम्मका १५० बढी विद्यार्थीले विद्यालय परिसरमै पाँच कठ्ठा जमिनमा सामूहिक तरकारी खेती गरेका हुन् ।

कृषि विषय अध्ययन गरिरहेका विद्यार्थीलाई पढाईसँगै व्यवहारिक शिक्षामा पनि दक्ष बनाउने उद्देश्यले तरकारी खेती गर्न लगाइएको विद्यालयका प्रधानाध्यापक सूर्यकान्ता राउतले बताउनुभयो । विद्यार्थीले यतिबेला काक्रा, फर्सी, करेला, भिण्डीलगायतका तरकारी फलाएका छन् । सो तरकारी बिक्रीबाट आएको आम्दानीमध्ये ५० प्रतिशत रकम विद्यार्थी उद्यम कोषमा जम्मा गर्ने र आधा रकम विद्यार्थीलाई बाँडिदिने गरेको उहाँले जानकारी दिनुभयो ।

विद्यार्थीले विद्यालयमा कुखुरापालनसमेत गर्दै आएका छन् । कोभिड–१९ का कारण लामो समय विद्यालय बन्द भएपछि सबै कुखुरा बिक्री गरिदिएको र शैक्षिक सत्र शुरु हुनसाथ पुनः पाल्न शुरु गरिने उहाँको भनाइ छ । यस वर्षको शैक्षिक सत्र शुरु हुनसाथ माछासमेत पालन गरिनेछ । माछापालनका लागि विद्यार्थीले पोखरी तयार गरिसकेका छन् । विद्यार्थीले कोषमा जम्मा गरेको रकममा विद्यालयले आवश्यक रकम थप गरेर आधुनिक र नमूना कृषि फार्म भएका देशका विभिन्न स्थानमा अध्ययन भ्रमणका लागि विद्यार्थीलाई समूह–समूह बनाएर पठाउने गरेको प्रअ राउतले जानकारी दिनुभयो ।

विद्यार्थीले गरिरहेको परम्परागत खेतीलाई आधुनिक प्रविधिबाट सिकाउने उद्देश्यले परियोजनाले आव २०७७/७८ मा रु १० लाख रकम लगानी गरिदिएको छ । परियोजनाको ‘प्राविधिक शिक्षालयको साझेदारीमा व्यावसायिक उत्पादन’ कार्यक्रमअन्तर्गत तरकारी खेतीका लागि प्लाष्टिक टनेल दुईवटा, तरकारी स्थायी नर्सरी निर्माणका लागि एउटा, च्याउ उत्पादन, कुखुरापालन र तरकारी खेती कार्यक्रम रहेका छन् ।

“आजका विद्यार्थी भोलिका कृषिका विज्ञ प्राविधिक हुन्”, परियोजनाका प्रमुख रवीन्द्र सुवेदीले भन्नुभयो, “उनीहरुलाई परम्परागत खेतीभन्दा आधुनिक तरिकाले प्राविधिक सीप सिकाउनुपर्छ, त्यही कारण विद्यालयसँग साझेदारीमा लगानी गरिदिएका हौँ ।”

विसं २०२९ मा स्थापना भएको विद्यालयमा विसं २०७४ देखि कक्षा ९ बाट कृषि बाली विज्ञानको पढाइ शुरु भएको हो । हाल कक्षा १२ सम्म विद्यार्थीले यो विषयमा अध्ययन गरिरहेका छन् । कृषि विज्ञानका लागि सरकारले ४८ कोटा दिएको प्रम राउतको भनाइ छ । यस विद्यालयमा अध्ययनरत प्रतिविद्यार्थीका लागि लाग्ने वार्षिक शुल्क रु १२ हजारमध्ये झापा गाउँपालिकाले रु नौ हजार २०० तिरिदिने गरेको छ । बाँकी रकम विद्यार्थी आफैँले उत्पादन गरेको तरकारीबाटै व्यवस्थापन भइरहेको उहाँले बताउनुभयो । सो विद्यालयमा अध्ययन गर्नका लागि छिमेकी पालिका बाह्दशीबाट समेत विद्यार्थी आउने गरेका छन् ।

पछिल्लो समय सामुदायिक विद्यालयमा प्राविधिक विषयका कारण विद्यार्थीको आकर्षण बढ्ने गरेको छ । अधिकांश प्राविधिक विषयको पढाइ अङ्ग्रेजीमा हुने हुँदा ग्रामीण क्षेत्रका विद्यार्थीलाई अध्ययनमा निकै सकस हुने गरेको उहाँको भनाइ छ ।

प्रतिक्रिया राख्‍नुहोस्

सम्बन्धित खबर

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker go get the website work properly.