एमालेले देउवालाई मत नदिने, मतदिने सांसद एमाले नरहने
विपक्षी दल नेकपा एमालेले प्रधानमन्त्री शेरबहादुर देउवालाई विश्वासको मत नदिने पुनः दोहोर्याउँदै मत दिने सांसदहरु पार्टीमा नरहने स्पष्ट पारेको छ । आइतबार अध्यक्ष केपी शर्मा ओली पक्षका नेताहरु मात्र रहेको स्थायी कमिटी बैठकले सो निर्णय गरेको हो ।

सर्वोच्च अदालतको परमादेशबाट प्रधानमन्त्रीमा नियुक्त भएका देउवाले आज प्रतिनिधिसभाको दोस्रो बैठकमा विश्वासको मत लिने कार्यतालिका छ ।
त्यसअघि बसेको एमाले बैठकले पार्टीले शेरबहादुर देउवालाई विश्वासको मत नदिने निर्णय गरेकाले पार्टीको निर्णय विपरीत ज–जसले विश्वासको मत दिन्छन्, उनीहरु पार्टीमा रहन नसक्ने घोषणा गरिएको छ ।
त्यसो त संसद अधिवेशनको पहिलो दिनको बैठकमा औपचारिकता पूरा गर्ने परम्परा भए पनि एमाले एकतावद्ध भइहाल्छ कि भन्ने मनसायले हतार–हतार विश्वासको मत लिन खोजेको ओली पक्षका नेताहरुको निष्कर्ष छ ।
बैठकपछि प्रवक्ता प्रदीप ज्ञवालीले शुक्रबार नै बसेको बैठकले यो सरकारलाई विश्वासको मत नदिने निर्णय गरेको स्मरण गर्दै संस्थागत निर्णयभन्दा बाहिर रहेर आफ्नो पार्टीको सरकारलाई ढलाएर बनेको सरकार या प्रधानमन्त्रीको पक्षमा मत हालिसकेपछि ती साथीहरु पार्टीमा नरहने बताउनुभयो ।
प्रतिक्रिया राख्नुहोस्