त्रिविमा भएको नियुक्तिमा नेविसङ्घको आपत्ति, उपकुलपतिको कार्यालयमा तालाबन्दी

नेपाल विद्यार्थी सङ्घ (नेविसङ्घ)ले मापदण्डविपरीत विभिन्न नियुक्ति गरिएको भन्दै त्रिभुवन विश्वविद्यालयको उपकुलपतिको कार्यालयमा ताला लगाएको छ ।
विश्वविद्यालयमा भएका नियुक्तिमा सत्तारूढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का कार्यकर्तालाई प्राथमिकता दिएको आरोप लगाउँदै नेविसङ्घ त्रिवि समितिले सोमबार रजिष्ट्रार र रेक्टरको कार्यालयमा समेत ताला लगाएको हो ।
सङ्घद्वारा जारी विज्ञप्तिमा भनिएको छ, ‘विश्वविद्यालयको व्यवस्थापनभन्दा पनि अमुक पार्टीका कार्यकर्ताको व्यवस्थापन गर्ने गरी हालै नियुक्ति गरिएका विभागीय प्रमुख, क्याम्पस प्रमुख, डिनहरूको नियुक्ति खारेज गर्न माग गरिएको छ ।
सङ्घले विश्वविद्यालयको मापदण्डअनुसार नियुक्त नगरेसम्म अनिश्चितकालीन तालाबन्दी गरिएको जानकारी गराउँदै मागसँगै वार्ताका लागि पटक–पटक पहल गर्दा पनि पदाधिकारी तयार नभएपछि आफूहरु तालाबन्दी गर्न बाध्य भएको सङ्घका नेताहरुको भनाइ छ ।
प्रतिक्रिया राख्नुहोस्