बिपी कोइराला मेरो अभिभावक हुनुहुन्थ्यो : प्रधानमन्त्री देउवा
प्रधानमन्त्री एवं नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले कांग्रेसका संस्थापक नेता विश्वेश्वरप्रसाद कोइराला आफ्नो राजनीतिक गुरु मात्रै नभइ अभिभावक पनि हुनुहुन्थ्यो भन्नुभएको छ ।

उनन्चालिसौँ बिपी स्मृति दिवसका अवसरमा आज प्रधानमन्त्री देउवाले एक सन्देशमार्फत् बिपी कोइरालाको प्रेरणाले नै आफूहरु लोकतन्त्र प्राप्तिको आन्दोलनमा होमिएको उल्लेख गर्नुभयो ।
प्रधानमन्त्री देउवाले आज आफ्नो स्मृति चार दशक अघि उहाँसँगको सामिप्यतामा फर्किएको महसुस गर्दै बिपीको मार्गदर्शन जीवनभर आफ्नो प्रेरणा हुने पनि बताउनुभयो ।
नेपालको प्रजातान्त्रिक आन्दोलनका एक शिखर पुरुष एवं नेपाली कांग्रेसका संस्थापक नेता बिपी कोइरालाप्रति प्रधानमन्त्री देउवाले श्रद्धासुमन व्यक्त गर्नुभयो ।
नेपालका प्रथम जननिर्वाचित प्रधानमन्त्री बिपी कोइरालाको योगदानको स्मरण गरी आज ३९औँ स्मृति दिवस मुलुकभर विभिन्न कार्यक्रमको आयोजना गरेर मनाइएको छ ।
नेपालमा प्रजातन्त्रको स्थापनाका लागि कठोर सङ्घर्ष गर्नुभएका कोइरालाको विसं २०३९ साउन ६ गते निधन भएको थियो । कोइरालाको जन्म १९७१ साल भदौ २४ गते भएको हो । विसं २०१५ को संसदीय निर्वाचनपछि २०१६ जेठमा उहाँ नेपालको पहिलो निर्वाचित प्रधानमन्त्री बन्नुभएको थियो ।
विसं २०१७ पुस १ गते शाही नेपाली सेनाको शक्तिका भरमा तत्कालीन राजा महेन्द्रले जननिर्वाचित सरकार अपदस्थ गरी बिपी कोइराला, प्रथम सभामुख कृष्णप्रसाद भट्टराई, नेता गणेशमान सिंहलगायत मन्त्री तथा कांग्रेस नेताहरुलाई बन्दी बनाएका थिए ।
बिपी कोइरालाले नेपाली साहित्यका क्षेत्रमा पनि महत्वपूर्ण योगदान पु¥याउनुभएको छ । उहाँका कैयौँ कृति नेपाली पाठकबीच लोकप्रिय छन् ।
एक अर्को कार्यक्रममा प्रधानमन्त्री एवं नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले बिपी कोइराला बहुमुखी प्रतिभाका धनी हुनुहुन्थ्यो भन्नुभएको छ ।
नेपाली कांग्रेस केन्द्रीय सूचना तथा सञ्चार विभागले आयोजना गरेको कार्यक्रममा प्रधानमन्त्री देउवाले लोकतान्त्रिक समाजवाद गाउँस्तरसम्म स्थापित गर्ने बिपीको सोच पूरा गर्न आफू लागिपर्ने प्रतिबद्धता जनाउनुभयो । लोकतान्त्रिक मूल्य मान्यताको स्थायित्वका लागि बिपीले गर्नुभएको सङ्घर्षबाट सबैले पाठ सिक्नुपर्नेमा सभापति देउवाले जोड दिनुभयो ।
कार्यक्रममा सांसद एवं समाजवादी चिन्तक प्रदीप गिरीले नेपाललाई लोकतान्त्रिक समाजवादी देशको रुपमा स्थापित गर्ने बिपीको सपना अझै पूरा हुन नसकेको उल्लेख गर्नुभयो । बिपीको सोचअनुसारको लोकतान्त्रिक समाजवादी नेपाल निर्माण गर्नसके निम्न वर्गका मानिसको पनि जीवनस्तर उकास्न सकिने उहाँको भनाइ थियो ।
बिपी स्मृति दिवसकै अवसरमा सुन्दरीजलस्थित बिपी सङ्ग्रहालयमा रहेको विपी कोइरालाको पूर्णकदको शालिकमा माल्यार्पण गरिएको थियो । नेपालमा फैलिइरहेको नयाँ भेरियन्टसहितको कोरोना जोखिमलाई ध्यान दिँदै भौतिक दूरी कायम गरी सीमित व्यक्तिका बीच गरिएको कार्यक्रममा गोकर्णेश्वर नगरपालिकाका प्रमुख एवं कांग्रेस काठमाडौँ ३ नं क्षेत्रीय सभापति सन्तोष चालिसे, सङ्ग्रहालय समितिका अध्यक्ष परशुराम पोखरेललगायतले माल्यार्पण गर्नुभएको थियो ।
प्रतिक्रिया राख्नुहोस्