कोरोना संक्रमितको संख्या १८ हजार नाघ्यो : थप दुईजनाको मृत्यु, मृतकको संख्या ४२
नेपालमा कोरोना भाइरस संक्रमितको संख्या १८ हजार नाघेको छ । बुधबार थपिएका एक सय जनासंगै यो संख्या १८ हजार नाघेको हो भने काठमाडौंमा तीनजना नयाँ सङ्क्रमित थपिएका छन् ।
त्यसै गरी बुधबारसम्म मृत्यु हुनेको संख्या ४२ पुगेको छ । बुधबार धनुषाका ६० वर्षका एक पुरुष विपी स्वास्थ्य प्रतिष्ठानमा उपचारको क्रममा साउन ६ गते मृत्यु भएको छ । यस्तै, चिनियाँ नागरिकको मृत्यु भएको छ ।
बुधबार स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले गरेको आफ्नो नियमित पत्रकार सम्मेलनमा प्रवक्ता डा. जागेश्वर गौतमका अनुसार नयाँ थपिएका बिरामीसँगै नेपालमा कोभिड–१९ सङ्क्रमितको कुल सङ्ख्या १८ हजार ९४ पुगेको हो ।
पछिल्लो चौबीस घण्टामा तीन हजार ७ सय ७९ नमूना सङ्कलन गरी परीक्षण गरिएकोमा एक सय जनामा संक्रमण देखिएको हो । त्यस्तै २४ घण्टामा दुईसय सातजना निको भएर घर फर्केका छन् । योसँगै निको हुनेहरु १२ हजार ८ सय ४२ पुगेको छ । नेपालमा निको हुने दर ७०.१ प्रतिशत पुगेको छ ।
नेपालमा अहिले पाँचहजार ३६८ जना सक्रिय सङ्क्रमितहरु रहेका छन् भने २० हजार ८४२ जना क्वारेन्टिनमा रहेका छन् । नेपालमा सङ्क्रमित हुनेका दर घटिरहेको छ । असार १० गते सङ्क्रमित हुनेका दर ९.२ रहेकोमा साउन ७ गते २.०६ प्रतिशत रहेको छ ।
प्रतिक्रिया राख्नुहोस्