राजनीति

‘एक चीन नीति’प्रति नेपालको प्रतिबद्धता कायम छ : प्रधानमन्त्री ओली

प्रधानमन्त्री केपी शर्मा ओलीले नेपाल र चीनबीच लामो र मित्रवत् सम्बन्ध रहेको चर्चा गर्दै नेपाल एक चीन नीतिप्रति प्रतिबद्ध रहेको दोहोर्याउनुभएको छ ।

मंगलबार चीनको अन्तरराष्ट्रिय विकास सहायता नियोग (सिड्का) का अध्यक्ष चेन सियाओदोङ्ग नेतृत्वको प्रतिनिधिमण्डलले गरेको शिष्टाचार भेटमा प्रधानमन्त्री ओलीले सो प्रतिबद्ध दोहोर्याउनुभएको हो ।

प्रधानमन्त्री निवास, बालुुवाटारमा भएको भेटमा दुुई देशबीचको आपसी सम्बन्ध, अर्थ मन्त्रालयमा सोमबार भएको दुुईपक्षीय समझदारी र दुई मुलुकबीच उच्चस्तरीय भ्रमणका अवसरमा यसअघि भएका विकास सहकार्यका सम्झौता कार्यान्वयनलगायत विषयमा विचारविमर्श भएको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ ।

उहाँले हालैको आकस्मिक बाढीका कारण रसुवागढीस्थित दुई देशको नाकामा क्षति भएका भौतिक संरचनाको निर्माण गर्न प्राथमिकता दिएकामा चीन सरकारलाई धन्यवाद दिँदै नेपाली पक्षबाट पनि आवश्यक तदारुकता दिइएको बताउनुभयो ।

उहाँले नेपाललाई भूपरिवेष्टितबाट भूूजडित बनाउन चीनसँगको किमाथाङ्कालगायत अन्य नाकाहरुको सञ्चालन र ‘बेल्ट एन्ड रोड इनिसियटिभ फ्रेमवर्क’ अन्तर्गतका परियोजनाहरू बिना अवरोध अघि बढ्नुपर्नेमा जोड दिनुभयो ।

भेटका अवसरमा प्रधानमन्त्रीका मुख्य सल्लाहकार विष्णुप्रसाद रिमाल, आर्थिक विकास सल्लाहकार डा युवराज खतिवडा, नेपालका लागि चीनका राजदूत चेन सोङ र परराष्ट्र मन्त्रालयका उच्चाधिकारीको उपस्थिति थियो ।

सो प्रतिनिधिमण्डलले चीन सरकारको सहयोगमा सञ्चालित र आगामी दिनमा सञ्चालन हुने परियोजनाका बारेमा उपप्रधानमन्त्री एवं अर्थमन्त्री विष्णुप्रसाद पौडेलसँग छलफल गरेको थियो ।

सो अवसरमा चितवनको भरतपुरस्थित बिपी कोइराला मेमोरियल क्यान्सर अस्पतालमा ‘बोनम्यारो ट्रान्सप्लान्टेसन’सम्बन्धी परियोजना र निजामती कर्मचारी अस्पातालको विस्तार गर्न सम्भाव्यता अध्ययन गर्नेसम्बन्धी समझदारीपत्रमा हस्ताक्षर भएको थियो ।

यसैगरी, दुई देशबीच मानव संसाधन विकाससम्बन्धी समझदारीपत्र र रसुवागढी–केरुङ अन्तरदेशीय विद्युत् प्रसारणलाइन निर्माणको सम्भाव्यता अध्ययनसम्बन्धी ‘माइन्युट’मा पनि हस्ताक्षर भएको थियो ।

प्रतिक्रिया राख्‍नुहोस्

सम्बन्धित खबर

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker go get the website work properly.