राजनीति

पार्टी एकतामा ओली-नेपालको बदलिएको धारणा

पार्टी बनाउने जिम्मेवारी नेतृत्वको : नेपाल , बाटो बिराएकालाई आममाफी : ओली

नेकपा (एमाले)का वरिष्ठ नेता एवं पूर्वप्रधानमन्त्री माधवकुमार नेपालले पार्टी बनाउने कि भत्काउने भन्ने जिम्मेवारी नेतृत्वको हुने बताउनुभएको छ । नेता नेपालले भन्नुभयो, “अहिले कालो बादल मडारिएको छ, त्यो बादललाई हटाएर अगाडि बढ्नुपर्छ ।”

नेता नेपाल पक्षको युवा सङ्घ नेपाल केन्द्रीय कमिटीले भक्तपुरको सूर्यविनायकमा आयोजना गरेको ४३ औँ पुष्पलाल स्मृति दिवस तथा पिपुल्स भोलियन्टर घोषणा कार्यक्रममा बोल्दै उहाँले कम्युनिष्ट आन्दोलनमा अहिले कालो बादल मडारिएको छ भन्नुभयो ।

असल उत्तराधिकारी युवाबाटै जन्मनुपर्छ भन्दै उहाँले जस्तोसुकै परिस्थितिमा पनि मैदान छाडेर भाग्न हुँदैन भन्ने पढेको र सिकेको बताउनुभयो ।

पार्टीभित्र भएका गल्ति कमीकमजोरीलाई समीक्षा गर्दै आत्मालोचना गर्दै लागेको धुलो टकटक्याउँदै फेरि उठेर जनताको माझ जानुपर्छ भन्दै उहाँले जनताले फेरि कम्युनिष्टलाई सत्ताको नेतृत्वमा पुर्याउने दाबी गर्नुभयो ।

नेता नेपालले शिव श्रेष्ठको नेतृत्वमा एक हजार एक पिपुल्स भोलियन्टर घोषणा गर्दै जनताको मन जित्ने गरी काम गर्न, इमान्दारी, समर्पण, निष्ठा, संकल्प र देश तथा जनताको लागि काम गर्न निर्देशन दिनुभयो । एमाले स्थायी कमिटी सदस्य रघुजी पन्तले पार्टीमा सम्मानजनक एकता चाहिने बताउनुभयो । उहाँले नेतृत्वले एकताको वातावरण बनाउनुपर्नेमा जोड दिनुभयो ।

दुई तिहाई नजिकको सरकार र यति ठूलो पार्टी अहिले कहाँ पुग्यो फर्केर हेरे हुन्छ भन्दै नेता पन्तले भन्नुभयो, “लोकतन्त्र, गणतन्त्र र संविधान जोगाउन बाध्य भएर शेरबहादुर देउवालाई विश्वासको मत दिने निर्णय गरेका हौँ, हामीले नै माधव नेपाललाई त्यसो गर्न भनेका हौँ, त्यसको जिम्मा हाम्रो टिमले लिन्छ ।”

उता अध्यक्ष केपी शर्मा ओलीले पार्टीमा बाटो बिराएका माधव नेपाल समूहलाई आममाफी दिने बताउनुभएको छ । उहाँले पार्टी एकता गरेर जान आग्रह गर्दै बाटो बिराएकालाई आममाफी दिने बताउनुभएको हो ।

“पुष्पलालबाट प्रेरणा लिऔँ, महान् विचार कार्यान्वयन गर्न एक जुट होऔँ, पद र स्वार्थका कुरा छाडौँ, देशका कुरा गरौँ, एकताका कुरा गरौँ”, अध्यक्ष ओलीले भन्नुभयो, “बाटो बिराएका र भड्किएकालाई आममाफी भयो ।”

पार्टी एकतालाई आग्रह गर्दै उहाँले भन्नुभयो, “आउनोस् मिलेर काम गरौँ, यस आन्दोलनलाई मजबुत गरौँ, एकजुट भएर जाउँ ।” यसअघि विभिन्न चरणका पार्टीको आचारसंहिता र विधि उल्लङ्घन गरेको भन्दै एमालले केहीलाई कारवाहीको घोषणा गरेको तर पुष्पलालको स्मृतिका अवसरमा पार्टी अध्यक्ष ओलीले सबैलाई आममाफी दिने घोषणा गर्नुभयो ।

उहाँले भन्नुभयो, “म सङ्गठनको प्रमुख हुँ, तर साथीहरू मलाई कु गर्दैछन्, कहिले अध्यक्षबाट हटाउने भन्छन्, केहीले साधारण सदस्यबाटै हटाउने भन्छन् ।” उहाँले फुटको बाटोमा लागेर पतनतिर जान नहुने र पुष्पलालले रोपेको बिरुवालाई सानोतिनो हावा हुन्डरीले केही असर नपार्ने जिकिर गर्नुभयो । अध्यक्ष ओलीले आफूलाई कुनै पनि आन्दोलले हल्लाउन नसकेपछि अदालतबाट परमादेशको सहारा लिएको दावी गर्नुभयो ।

एमाले स्थायी कमिटी सदस्य रामबहादुर थापाले पार्टी एकता र सुदृढीकरणको अभियानमा जानुपर्ने जरुरी भएकासमेत बताउनुभयो । नेकपाका संस्थापक महासचिव पुष्पलालको जन्म विसं १९८० मा रामेछापमा भएको थियो भने २०३५ साल साउन ७ गते निधन भएको थियो । उहाँले २००६ सालमा पहिलो पटक नेपालमा नेकपाको स्थापना गर्नुभएको थियो ।

प्रतिक्रिया राख्नुहोस्

सम्बन्धित खबर

Back to top button