नारायणगढ–मुग्लिन सडकको दुःख : विकल्प खोज्नुको विकल्प छैन
राजधानी काठमाडौं, पोखरालगायतका मुख्य शहरलाई तराईसँग जोड्ने मुख्य मार्ग नारायणगढ– मुग्लिन सडकखण्डको दुःख अझै हटेको छैन । विगतमा साघुरो सडक र पहिरोले दुःख दिएको उक्त सडकखण्ड विस्तार गरे पनि पहिरोको दुःख अझै हटेको छैन ।
वर्षायाम सुरु भएलगत्तै दैनिक पहिरोले अबरुद्ध हुने उक्त सडकको समस्या हटाउन सरकारले सडक विस्तार गर्ने गर्यो । सडक विस्तारसँग पहिरो नियन्त्रणका काम पनि भए तर पनि पहिरो जाने र घण्टौंँ समस्या उत्पन्न हुने समस्या ज्यूँका त्यूँ छ । सन् २०१५ बाट सडक विस्तार गरी अन्तर्राष्ट्रिय मापदण्डअनुसारको दुई लेन सडक बनाइएको छ । दुई लेनको बनाउन ठाउँठाउँमा पहाड काटिएको छ । सडक विस्तारको काम सकिए पनि पहाड काटिएको ठाउँमा पहिरो जाने गरेको छ ।
सडक विस्तासँगै विभिन्न चरणमा गरेर पहिरो नियन्त्रणका काम पनि भएका छन् । नारायणगढ मुग्लिन सडक आयोजनाका सूचना अधिकारी इञ्जिनीयर शिव खनाल पहिरो नियन्त्रणको काम गरिए पनि भौगोलिक बनावटका कारणले पहिरोको समस्या समाधान हुन नसकेको बताउनुहुन्छ ।
उहाँका अनुसार सडकबाट भौगोलिक अवस्था नहेरी शाखा सडक विस्तार गर्दा पनि पहिरोको समस्या हुने गरेको छ । उहाँले भन्नुभयो’ “उक्त सडक खण्डमा धेरै खोल्साखोल्सी छन् । सडकको माथिल्लो भागमा वर्षासँग पानी आउँछ । कमजोर भौगोलिक अवस्थामा पानीको मात्रा बढी हुँदा पहिरोको समस्या हुने गरेको छ । जलवीरेदेखि मुग्लिनसम्मको भागमा पहिरोको बढी जोखिम रहेको छ ।”
सडक आयोजनाले उक्त सडक खण्डको ३१ ठाउँमा पहिरो रोक्ने काम गरेको छ । सडकखण्डको १५ किलो, १८ किलो, घुमाउने, भालुढुङ्गा, जलवीरे, टोपेखोला र कालिखोला नजिक पहिरो रोकथामको काम भइरहेको खनालले बताउनुभयो । नयाँ प्रविधिको उच्चतम प्रयोग गरेर ‘रकनेटिङ’, ‘बोल्टिङ’ र ‘बायो इञ्जिनियरिङ’ प्रविधिबाट पहिरो रोकथामको काम भएको उहाँले बताउनुभयो ।
रु १४ करोड नौ लाखको लागतमा पहिरो रोक्ने कामको जिम्मा बज्रगुरु हिमशिखर र न्यूटेक्निकल जेभिले पाएको हो । अहिले पहिरो गइरहेको चार किलो क्षेत्रमा भने पहिरो रोक्ने काम हुनसकेको छैन । लगातारको वर्षाका कारण काम हुन नसकेको खनालको भनाइ छ । सो क्षेत्रमा वर्षापछि काम हुने गरी पहिरो रोक्ने काम स्थगित गरिएको उहाँले जानकारी दिनुभयो ।
विगतमा पहिरो गइरहेको ठाउँमा रोकथामको काम भएपछि पहिलो समय पहिरो जाने क्रम रोकिएको खनालले बताउनुभयो । भूगर्भविद् शिवकुमार बाँस्कोटाले सडक विस्तारका क्रममा धेरै पुराना पहिरो चलाएका कारण अहिले पनि पहिरो खसिरहेको बताउनुभयो । उहाँले भन्नुभयो’, “धेरै वर्षअघिदेखि माटो बसेको ठाउँमा निकै भिरालो हुनेगरी पहाड काटिएको छ, पहिरो नगएको ठाँउमा पनि चलाइएको छ, वर्षायाममा पुरानो पहिरोमा पानी छिरेर बग्ने गरेको छ ।” यति धेरै पहिरो पहिले नखस्ने गरेको भन्दै उहाँले विस्तारपछि नै बढी पहिरो खसिरहेको बताउनुभयो ।
धरै माथिबाट खसेका पुरानो पहिरो चिन्न नसक्दा पनि समस्या भएको बाँस्कोटाको भनाइ छ । उहाँले अध्ययन नगरी शाखा सडक निर्माण गर्दा थुनिएको लेदो बर्खाको समयमा विस्फोट भएको बताउनुभयो ।
बाँस्कोटाले सडक विस्तार गर्दै काटेको स्लोपको काम तुरुन्त गरेको भए समस्या कम हुने बताउनुभयो । उहाँले जुन ठाउँमा पहिरो गएको छ त्यो ठाउँको विस्तृत अध्ययन गर्दै नयाँ वैकल्पिक सडकबारे पनि ध्यान दिनुपर्ने धारणा राख्नुभयो ।
इच्छाकामना उद्योग वाणिज्य सङ्घका अध्यक्ष कल्याण गुभाजुले सडक विस्तार सम्पन्न भएपछि समस्या हट्ने अपेक्षा गरिएको भए पनि समस्या हट्न नसकेको बताउनुभयो । उहाँले यात्रुसँगै मुग्लिनवासीले समेत समस्या झेल्नुपरेको गुनासो गर्नुभयो । समस्याको दीर्घकालीन समाधान खोजी गरी कार्यान्वयन गर्नुपर्नेमा उहाँको जोड थियो ।
चारकिलोमा पुनः पहिरो- सडक अवरुद्ध
बल्लबल्ल संचालनमा आएको नारायणगढ–मुग्लिन सडकखण्ड अन्तर्गत इच्छाकामना गाउँपालिका–६ चारकिलोमा शुक्रबार विहान पुनः पहिरो गएपछि यातायात अबरुद्ध भएको छ । जिल्ला प्रहरी कार्यालय चितवनका अनुसार गएराति खसेको पहिरो पन्छाएर एकतर्फी सवारी सञ्चालन भएको केही समयमा नै पुनः सोही स्थानमा पहिरो खसेको हो । निरन्तरको वर्षाका कारण पहिरो खस्ने क्रम जारी रहेको प्रहरी कार्यालयका प्रवक्ता प्रहरी नायब उपरीक्षक सूर्यबहादुर थापाले जानकारी दिनुभयो ।
पहिरो ठूलो भएकाले के कतिखेर पन्छाएर सकिन्छ भन्न नसकिने उहाँले जानकारी बताउनुभयो । सोही स्थानमा गत सोमबार पनि पहिरो खसेको थियो । सो पहिरो ३६ घण्टामा पन्छाइएको थियो । पहिरोका कारण दुईतर्फी सडक अवरुद्ध भएको छ ।
प्रतिक्रिया राख्नुहोस्