विश्व समाचार

ब्राजिलमा एकैदिन एकलाख संक्रमित, भारतमा पनि बढ्दै

ब्राजिलमा कोभिड–१९ को सङ्क्रमण पछिल्लो समयमा झनै बढेको पाइएको छ । ब्राजिलका स्वास्थ्य अधिकारीहरुहरुले दिएको जानकारीअनुसार यहाँ गएको २४ घन्टामा नै एक लाखभन्दा पनि बढी सङ्क्रमित भएका छन् ।

यहाँ विगतका केही दिनमा एकै दिनमा दुई हजारभन्दा बढीको ज्यान गएको स्वास्थ्य अधिकारीहरुले जानकारी दिएका थिए । हाल मृत्यु हुनेको संख्या त घटेको छ तर सङ्क्रमितहरु भने झनै बढेका छन् ।यहाँ शुक्रबार अघिल्लो २४ घण्टामा कोरोना भाइरस सङ्क्रमणबाट कम्तीमा पनि १ लाख ८ हजार जना मानिस सङ्क्रमित भएका छन् ।

योसँगै ब्राजिलमा कोरोना भाइरसको प्रकोपबाट संक्रमित हुनेहरुको संख्या १ करोड ९६ लाख पुगेको छ । जसका कारण यहाँको जनजीवन पनि निकै प्रभावित भएको देखिएको छ । त्यसैगरी गएको २४ घन्टामा यहाँ यो सङ्क्रमणबाट १ हजार ३२४ जनाको ज्यान गएको छ । यो संक्रमणबाट अहिलेसम्म ब्राजिलमा ५ लाखभन्दा बढीको ज्यान गएको बताइएको छ ।

ब्राजिलमा कोरोना भाइरसको सङ्क्रमण शुरु भएयता हालसम्म यस प्रकोपबाट ज्यान जाने व्यक्तिको संख्या पाँच लाख नाघेको छ । त्यहाँका स्वास्थ्य अधिकारीहरुले दिएको जानकारीअनुसार ब्राजिलमा अहिलेसम्म अर्थात् मंगलबार सम्ममा ५ लाख ४८ हजार ९५ जनाको कोरोना भाइरसको संक्रमणबाट ज्यान गएको बताइएको छ ।

ब्राजिलको स्वास्थ्य मन्त्रालयले दिएको जानकारीमा यहाँ पछिल्लो समयमा सङ्क्रमित हुनेको संख्या बढेको पाइएको छ । त्यसैगरी मृत्यु हुनेहरुको संख्या पनि केही हप्ता अघि घटेको देखिएकोमा अहिले बढेको छ । ब्राजिलको साओ पाओलो शहर सुरुदेखि नै यो सङ्क्रमणको केन्द्रविन्दुको रुपमा रहेको पनि पाइएको छ । ब्राजिल कोरोना भाइरस सङ्क्रमणको कारण संयुक्त राज्य अमेरिकापछि सबैभन्दा बढी नागरिकको ज्यान जाने देशको रुपमा परेको छ । यहाँ अहिले पनि दैनिक कम्तीमा पनि एक हजार जनाको ज्यान जाने गरेको छ ।

भारतमा थप ३९ हजार नयाँ सङ्क्रमित थपिए

भारतमा कोरोनाभाइरसबाट थप ३९ हजार ९७ जना सङ्क्रमित भएका छन् । योसँगै भारतमा अहिलेसम्म कुल सङ्क्रमितहरुको सङ्ख्या तीन करोड १३ लाख ३२ हजार १५९ पुगेको अधिकारीहरुले जनाएका छन् ।

कुल सङ्क्रमित मध्ये अहिले चार लाख आठ हजार ९७७ जना सङ्क्रमित अवस्थामै रहेको संघीय स्वास्थ्य मन्त्रालयले जनाएको छ । यो सङ्ख्या कुल सङ्क्रमित मध्येको १.३१ प्रतिशत भएको पनि मन्त्रालयले जानकारी दिएको छ ।

भारतमा कोरोनाभाइरसबाट सङ्क्रमित भएका मध्ये चार लाख २० हजार १६ जनाको मृत्यु भएको छ । ती मध्ये ५४६ जना पछिल्लो एक दिनमा थपिएका हुन् । पछिल्लो २४ घण्टामा कुल ३५ हजार ८७ जना कोरोनाभाइरसबाट सङ्क्रमणमुक्त भएका छन् । यो अवधिमा नयाँ सङ्क्रमितको सङ्ख्या भन्दा सङ्क्रमणमुक्त भएकाहरुको सङ्ख्या कम देखिएकाले अघिल्लो दिनको तुलनामा सङ्क्रमित अवस्थामै रहेकाहरुको सङ्ख्या बढेको छ ।

भारतमा अहिले कोरोनाभाइरसबाट सङ्क्रमित भएरपनि अहिले सङ्क्रमणमुक्त भएकाहरुको कुल सङ्ख्या तीन करोड पाँच लाख तीन हजार १६६ पुगेको छ । सरकारी अधिकारीहरुका अनुसार भारतमा ४४.४५ करोड स्वाब परीक्षण गरिएको छ भने ४२ लाख ७८ हजारभन्दा बढीलाई कोरोनाभाइरस विरुद्धको खोप लगाइएको छ ।

प्रतिक्रिया राख्‍नुहोस्

सम्बन्धित खबर

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker go get the website work properly.