अर्थ

माथिल्लो तामाकोशीबाट दुई सय २८ मेगावाट विद्युत उत्पादन

राष्ट्रिय गौरबको आयोजना माथिल्लो तामाकोसी जलविद्युत् आयोजनाको छवटामध्ये तेस्रो युनिटबाट पनि विद्युत उत्पादन सुरु भएको छ । आयोजनाको विद्युत् गृहमा ७६ मेगावाटका छवटा टर्वाइन जोडिएका छन् ।

गत असार २१ मा पहिलो युनिट सञ्चालन गर्दै उद्घाटन गरिएको आयोजनाबाट शनिबार रातिदेखि तेस्रो युनिट सञ्चालन गरिएको आयोजनाले जनाएको छ । अब क्रमशः अरु युनिटहरुबाट पनि विद्युत उत्पादन हुँदै जाने बताइएको छ ।

माथिल्लो तामाकोसी जलविद्युत् लिमिटेडका कार्यकारी निर्देशक विज्ञान श्रेष्ठले पहिलो र दोस्रो युनिटको परीक्षण उत्पादन सफल भएपछि तेस्रो युनिट पनि सञ्चालनमा ल्याइएको जानकारी दिंदै कुल ४ सय ५६ मेगावाट क्षमताको सो आयोजनाबाट २ सय २८ मेगावाट विद्युत् उत्पादन हुन थालेको बताउनुभएको छ ।

श्रेष्ठले साउनभित्रै चौथो युनिट पनि सञ्चालन गर्ने र भदौभरमा बाँकी दुई युनिट पनि सञ्चालन गरी अयोजना पूर्ण क्षमतामा चलाउने योजना रहेको बताउनुभएको छ । परीक्षणका लागि प्राविधिकहरूले काम गरिरहेको र क्रमिक रूपमा टर्वाइनहरू परीक्षण गर्दै जाने उहाँले बताउनुभयो ।

श्रेष्ठका अनुसार सबै परीक्षण सकेर व्यावसायिक उत्पादनमा जाने मिति पनि तय भएको छ । पहिलो चार युनिटबाट यसै महिना ३०४ मेगावाट विद्युतको व्यावसायिक उत्पादन हुनेछ भने बाँकी दुईसमेत गरी सबै युनिटबाट व्यावसायिक उत्पादन गर्न अर्को एक महिना लाग्नेछ ।

प्रतिक्रिया राख्‍नुहोस्

सम्बन्धित खबर

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker go get the website work properly.