राजनीति

कोरोना नियन्त्रणमा प्रभावकारी काम हुन सकेन : महामन्त्री खड्का

नेपाली काँग्रेसका महामन्त्री पूर्णबहादुर खड्काले सरकारले कोरोना नियन्त्रणमा प्रशस्त समय पाए पनि प्रभावकारी रूपमा काम गर्न नसकेको बताउनुभएको छ ।

काँग्रेसको तरुण विभागले शनिबार आयोजना गरेको ‘नवनियुक्त विभागका सदस्यको शपथग्रहण’ कार्यक्रममा उहाँले सरकारले जनताको अपेक्षाअनुसार काम गर्न नसकेको आरोप लगाउनुभयो ।

उहाँले भन्नुभयो, “सरकार कोरोना नियन्त्रणभन्दा पार्टीभित्रको आपसी झगडामा रुमल्लिएको छ ।” सरकारले जनतालाई राहत, क्वारेन्टिन, औषधि उपचारको राम्रो व्यवस्था गर्न नसकेको उहाँको भनाइ छ । महामन्त्री खड्काले पार्टीको मेरुदण्ड तरुण विभाग भएको बताउँदै विभागले पार्टीको सिद्धान्त, आदर्शलाई युवामाझ लैजाने विश्वास व्यक्त गर्नुभयो । पार्टीभित्र गुठको समस्या देखिएको भएको भन्दै उहाँले सबै मिलेर पार्टीलाई सुधार गर्नुपर्ने उल्लेख गर्नुभयो ।

काँग्रेसका केन्द्रीय सदस्य एवं तरुण विभाग प्रमुख शङ्कर भण्डारीले व्यक्तिलाई होइन पार्टीलाई बलियो बनाउन तरुण विभाग लाग्नुपर्ने बताउनुभयो । “देशभरका युवालाई विभागले गोलबन्द गरेर सरकारको गलत क्रियाकलापविरुद्ध खबरदारी गर्नुपर्छ”, उहाँले भन्नुभयो । नेता भण्डारीले सङ्गठन विस्तार र मुलुकको समृद्धिका लागि विभागले काम गर्ने उल्लेख गर्नुभयो । भर्खरै विस्तार भएको तरुण विभागमा संयोजकसहित २४ सदस्य मनोनित गरिएको छ ।

प्रतिक्रिया राख्‍नुहोस्

सम्बन्धित खबर

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker go get the website work properly.