राजनीति

रञ्जनको फैसला उल्टिने सम्भावना : तीन न्यायाधीशको बेञ्चमा पुनरावलोकन मुद्दा

पत्नी हत्या गरी शव नष्ट गरेको अभियोगमा जन्मकैद सजाय भोगिरहेका सशस्त्र प्रहरीका पूर्व डीआईजी रञ्जन कोइरालाको कैद घटाउने गरी सर्वोच्च अदालतको फैसलामाथि दर्ता भएको पुनरावलोकन मुद्दाको सुनुवाईमा तीन न्यायाधीशको बेञ्च तोकिएको छ ।

बिहिबार कोइराला डिल्लीबजार कारागारबाट रिहा भएपछि महान्यायाधिवक्ताको कार्यालयले गरेको पुनरावलोकनमाथि आइतबारको सुनुवाई न्यायाधीशत्रय वमकुमार श्रेष्ठ, प्रकाश कुमार ढुंगाना र कुमार रेग्मीको बेञ्चमा परेको छ ।

नियम अनुसार फैसला गर्ने प्रधान न्यायाधीश चोलेन्द्र शमशेर राणाले पेशी तोक्न नमिल्ने भए पनि आइतबार विहान उहाँले नै पेशी तोक्नुभएको हो ।

यसअघि प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबरा र न्यायाधीश तेजबहादुर केसीको सुनुवाईले पूर्वडीआईजी कोइरालाको मुद्दाको सजायँ कटौती गर्ने निर्णय गरेको थियो ।

पत्नी गीताको हत्या गरेका कोइरालालाई जिल्ला अदालत र पुनरावेदन अदालतले सर्वश्वसहित जन्मकैदको फैसला सुनाएको थियो । तर जबरा र केसीले भने १५ असारमा कोइरालाको सजाय घटाउँदै ८ वर्ष ६ महिना कायम गरेको थियो । सर्वोच्चको सो फैसलाअनुसार ८ साउनमा कोइराला रिहा भएका छन् । सर्वोच्चको फैसला त्रुटीपूर्ण रहेको भन्दै महान्यायाधिवक्ताको कार्यालयले सोही दिन सर्वोच्चमा पुनरावलोकन निवेदन दर्ता गरेको थियो ।

फैसला पुनरावलोकनका लागि सर्वोच्च अदालतमा सरकारले दर्ता गरेको निवेदनमाथि सुनुवाई गर्नुपूर्व प्रधानन्यायधीश राणाले शनिबार बालुवाटारस्थित निवासमा सर्वोच्च अदालतका न्यायाधीशहरुसँग यसबारे परामर्श गर्नुभएको र सोही परामर्शअनुसार नै आइतबारको निर्णय आउने सूत्रको भनाइ छ ।

प्रतिक्रिया राख्‍नुहोस्

सम्बन्धित खबर

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker go get the website work properly.