बिचार

साउन, मानव अंग प्रत्यारोपण र भगवान शिवको महिमा

साउनको हरेक सोमबार भगवान शिवको व्रत बसेर पूजा, आराधना गरिन्छ । भगवान शिवलाई देउवताका पनि देवता अर्थात देवका पनि देव महादेव भनिन्छ । देवताहरुमा श्रेष्ठ र सबैले पूज्ने भएकाले महादेव भनियो । शिवले महादेव हुनुको सार्थकता पनि कर्मले सिद्ध गरेका छन् ।

शिव शान्ति, कल्याण र दयाका प्रतीक अनि महान वैज्ञानिक पनि हुन् । आज विज्ञान–प्रविधिले सम्भव तुल्याएको मानव अंग प्रत्यारोपणको सुरुवात भगवान शिवले गरेका थिए । विज्ञानले केही अंग प्रत्यारोपण सम्भव तुल्याए पनि मानव शिर प्रत्यारोपण गर्न सकेको छैन । तर भगवान शिवले शिर छेदन भएका मानिसमा अरु जीवको शिर प्रत्यारोपण गरेर जीवित तुल्याएका थिए ।

भगवान शिव मानव अंग प्रत्यारोपण गर्ने सृष्टिको पहिलो वैज्ञानिक पनि हुन् । दक्षप्रजापतिको शरीरमा बोकाको टाउको र गणेशका शरीरमा हात्तीको टाउको जोडेका कथाहरु हामीले शास्त्रहरुमा पढ्दैआएका छौं । श्री स्वस्थानी व्रतकथा अनुसार आफ्नी अर्धाङ्गिनी सतिदेवीले दक्षप्रजापतिको यज्ञकुण्डमा हामफालेर देह त्याग गरेपछि विक्षिप्त बनेका महादेवले आफ्ना सेना पठाएर दक्षको यज्ञ विध्वंश गरिदिए । दक्षको शिर काटेर यज्ञकुण्डमा होमिदिएपछि उनै महादेवले दक्षकी पत्नीको अनुनय सुनेर बोकाको शिर दक्षको शरीरमा जोडिदिए र मानवलाई अंग प्रत्यारोपण मात्र हैन परिवर्तन नै गर्न सकिन्छ भनेर ज्ञान दिए ।

दक्षप्रजातिको मात्र हैन महादेवले पार्वती पुत्र गणेशको शिरोच्छेदन गरेपछि हात्तीको टाउको जोडिदिएका थिए । आफ्नी पत्नी पार्वतीले ‘बुकुवा’ दल्दा निस्केको मयलको डल्लोबाट मानव आकार दिइन र यसमा शक्ति दिएर द्वारपाले राखिन । महादेव आउँदा उसले द्वार खोलेन । रिसले चुर महादेवले गणेशको शिर छिनाइदिए । पछि पार्वतीको अनुनयपछि हात्तीको टाउको जोडिदिएर जीवन दिएका थिए ।

यी कुराहरु उल्लेख गर्नुको खास कारण शास्त्र पढेर, बुझेर यसको प्रयोग गर्ने हो भने हामी नेपालीका नाममा कैयौं यस्ता आविष्कार र उपलब्धिका चाङ लाग्नेछ । हामीले सर्वप्रथम आफूलाई चिन्न सक्नुपर्दछ । यो भनेको हाम्रो धर्म, संस्कृति, परम्परा र हाम्रा शास्त्र अनि यिनमा लिपिबद्ध गरिएका ज्ञान विज्ञानका भण्डारलाई आजको पुस्तामा हस्तान्तरण गर्नुपर्दछ । मूलतः विद्यालय तहदेखिको शिक्षामा यस्ता विषयलाई प्राथमिकताका साथ अध्यापन गराउने र समयको आवश्यकता अनुसार व्याख्या गराउन सक्ने हो भने धर्मग्रन्थ पढेरै हाम्रा बालबालिकाहरु भोलि आविष्कारक बन्न सक्छन् ।

हाम्रा शास्त्रले जे लेखेको छ र जे कुरा लिपिबद्ध गरेर छोडेको छ त्योभन्दा पर अर्को कुनै ज्ञान छैन भन्ने कुरा पढाउन सक्नुपर्छ । आवश्यकता केवल शास्त्रहरुको व्याख्या समयोचित ढंगबाट गराउने कि पूजा मात्रै गरिरहने भन्ने हो । आम विनाशकारी हतियारदेखि विद्युत, वायुयान, उपचारपद्धति, शल्यक्रिया यी सबै कुरा प्राकृतिक रुपम सम्भव छ भन्ने कुरा वैदिक शास्त्रहरुले दिएको छ यसलाई अब पनि कुनै एक समुदाय वा पन्थको गरिखाने मेसो भनेर आयातितत धर्म, संस्कृति र शिक्षालाई मात्र प्राथमिकता दिने हो भने हामी यहाँभन्दा माथी कहिल्यै उकासिने छैनौं ।

रावणसंग विमान थियो– उनी सोही विमानबाट यात्रा गर्दथे । विमान असम्भव थियो भने १५ हजार वर्षअघिको रामायणकालमा त्यो कसरी लिपिबद्ध गरियो ? आणविक अस्त्रहरुको कल्पना रामायण र महाभारत कालमै गरियो । पृथ्वी ध्वस्त हुने अस्त्रहरु योद्धाहरुसंग भए पनि त्यसको प्रयोग निषेध गरियो । आज आणविक हतियारको प्रयोग निषेध गरिएको छ । हाम्रा शास्त्रहरुले मानव जीवन, जगत र सृष्टि संरचना संचालनका यावत सूत्रहरु लिपिबद्ध गरिदिएको छ । यसैको प्रतिफल मानव अंग प्रत्यारोपण, कृत्रिम गर्भाधानदेखि सबै विकासका आयामहरुको ढोका खुलेको हो । हामीले त्यसको मर्म नबुझेर मात्र सुनको कचौरी बोकेर भिख माग्नु परिरहेको छ ।

अहिलेसम्म हामी अथाह स्रोत, साधन, सम्पदा र ज्ञान–विज्ञानका सबै पक्षमा सम्पन्न हुँदाहुँदै पनि पिछडिएको हुनुमा यहाँका शासकवर्ग, कथित बुद्धिजीवी, धर्माधिकारीहरुकै ठूलो हात छ । निरीह जनता त आफ्नो कर्म गरिरहेका छन् । उनीहरु शिवको पूजा पनि गर्छन्, नदीमा दूध पनि चढाउँछन्, यज्ञ पनि गर्छन्, जानेर नजानेर उनीहरुले वातावरण शुद्ध राखिरहेका छन् । तसर्थ धर्मलाई राजनीतिक शक्ति आर्जनको औजार हैन मुलुक विकासको आधार हो भन्ने तथ्य स्वीकारेर हाम्रो धर्म, संस्कृति र परम्परा विज्ञान नै हो भन्ने अनुभूति  विकसित गर्न सके भने अझै परिस्कृत रुपमा सिकाउने हो भने हाम्रो उन्नति टाढा छैन ।

पूर्वीय सभ्यता, संस्कृति र परम्पराको जग वेद हो । वेद भनेको विज्ञान हो– ज्ञान हो । वेदले जे सम्भव छ भनेर लेखेको छ त्यो भएको छ । आज विज्ञानले अनेक अन्वेषणहरु गरिरहेका छन्, यसको सूत्र वेद नै हो । हाम्रा शास्त्रहरुले उल्लेख गरेका धेरै कुरा अहिले प्रमाणित भएर सम्भव देखिएका छन् । एउटा अर्को उदाहरणका रुपमा ‘टेष्ट टुयूब बेबी’लाई लिन सकिन्छ । कौरब र पाण्डवका पिताहरु अमैथुनी क्रियाबाट जन्मेका थिए । आजभोलि ‘टेस्ट ट्यूब बेबी’ भनेजस्तै ।

दुःखको कुरा के मात्र हो भने शास्त्रले उल्लेख गरेका विषयहरुको अति न्यून पक्षलाई उल्लेख गरेर आधुनिक समाजमा यसको महत्व दर्शाउनेको अभाव भएकाले हाम्रा शास्त्रहरु पूजाकोठाको शोभा मात्र बने । परिणाम– हामीले पश्चिमाले घोकाइदिएको पाठ पढेर आफ्नोपन भुल्दै गयौं । संसारमा जेजति आविस्कार भएका छन, जेजति प्रविधिको विकास भएका छन्, हातहतियारदेखि वायुयानसम्म ती सबैका कल्पना वेदका विभिन्न हाँगाका शास्त्रहरुले सविस्तार वर्णन गरेको छ । यी सबै उतिबेलै अस्तित्वमा थिए । यी सबै कुराहरु लिपिबद्ध भएको शास्त्र हामीले पूजा गरेर राख्यौं, त्यही शास्त्र पश्चिमाहरुले अध्ययन गरेर व्यवहारमा लागू गरे । फरक यत्ति हो ।

प्रतिक्रिया राख्नुहोस्

सम्बन्धित खबर

Back to top button