अघिल्लो महिनाका तुलनामा कोरोना संक्रमितको तुलनामा अहिले केही घटेको देखिए पनि जोखिम कायमै रहेको र दैनिक रुपमा संक्रमण बढिरहेको पछिल्लो २४ घण्टाको तथ्यांकले देखाएको छ ।

सोमबार सार्वजनिक पछिल्लो २४ घण्टाको विवरण अनुसार ३ हजार ४ सय २१ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । यस्तै पछिल्लो २४ घण्टामा कोरोना संक्रमणबाट २५ जनाको मृत्यु भएको छ भने १ हजार ६८६ जना निको भएका छन् ।
स्वास्थ्य मन्त्रालयका अनुसार १२ हजार २ सय ४० पीसीआर परीक्षण गर्दा २ हजार ३ सय ९१ र ५ हजार ३२ को एन्टीजेन परीक्षण गर्दा १ हजार३० गरी ३,४२१ जनामा कोरोना संक्रमण पुष्टि भएको हो ।
सोमबार थपिएकासँगै नेपालमा कोरोना संक्रमितको कुल संख्या ६ लाख ८२ हजार ९४७ पुगेको छ । तीमध्ये ९ हजार ९,७३८ जनाको मृत्यु भएको छ भने ६ लाख ४५ हजार ३०१ जना संक्रमणमुक्त भएका छन् ।
मन्त्रालयका अनुसार हाल देशभर सक्रिय संक्रमितको संख्या २७ हजार ९०८ जना रहेका छन् । जसमध्ये २५ हजार ९३ जना होम आइसोलेसनमा रहेका छन् भने २ हजार ८१५ जना संस्थागत आइसोलेसनमा रहेका छन् । कोरोनाका बिरामीमध्ये ६६९ जना आईसीयू र १६६ जना भेन्टिलेटरमा उपचाररत् छन् ।
प्रतिक्रिया राख्नुहोस्