जन सरोकार

वैदेशिक रोजगारीमा जानेको संख्या बढेसंगै ठगीका घटनामा दोब्बर वृद्धि

गत आर्थिक वर्षमा नेपालबाट वैदेशिक रोजगारीमा जानेको संख्या आठलाख बढी पुग्यो । यो अहिलेसम्मकै सबैभन्दा बढी हो । त्यस्तै वैदेशिक रोजगारीमा जानेहरुलाई ठग्नेको संख्या पनि कीर्तिमानी रुपमा बढेको छ ।

वैदेशिक रोजगार विभागका अनुसार आर्थिक वर्ष २०८१।८२ मा १२ हजार ७ सय ९० उजुरी दर्ता भएका छन् । यो गत आव २०८०।८१ को तुलनामा पाँच हजार २७ वटा अर्थात् करिब ४० प्रतिशतले बढी हो ।

वैदेशिक रोजगारीमा जाने अधिकांश युवा घरगाउँकै दाजुभाइ, दिदीबहिनी, आफन्त र सहरका वैदेशिक रोजगार व्यवसायी कम्पनी, ट्राभल एजेन्सी, एजुकेसन कन्सल्टेन्सीलगायतबाट ठगिने गरेका छन् ।

विभागका अनुसार यस अवधिमा सबैभन्दा बढी उजुरी मुद्दा र अनुसन्धान शाखामा पाँच हजार ६३२ वटा उजुरी दर्ता भएका छन् । यस अवधिमा दर्ता भएका उजुरीमध्ये ५२८ वटाको मिलापत्र र २६७ वटा अदालतमा मुद्दा दायर भएको विभागले जनाएको छ ।

सो अवधिमा मिलापत्र गराउँदा पीडकबाट पीडितलाई क्षतिपूर्तिबापत ३२ करोड आठ लाख ७३ हजार ४६५ रुपियाँ भराइएको विभागका महानिर्देशक कमलप्रसाद भट्टराईले जानकारी दिनुभयो । उहाँका अनुसार यस शाखामा सो अवधिमा परेका उजुरीमध्ये चार हजार ९३७ वटा उजुरी छानबिन गर्ने काम भइरहेको छ ।

विभागका अनुसार सो अवधिमा विभागमा रहेको प्रहरी शाखामा पाँच हजार ३३७ वटा उजुरी दर्ता भएका छन् । जसमध्ये चार हजार ८७६ वटा उजुरी फस्र्योट भए भने १२ वटा उजुरीमा मिलापत्र गराइएको छ । सो अवधिमा प्रहरीमा दर्ता भएका उजुरीमध्ये ४४९ वटा उजुरी फस्र्योट हुन बाँकी रहेको जनाइएको छ ।

त्यसै गरी सो अवधिमा विभागमा उद्धार राहत तथा समन्वय शाखामा एक हजार ८२२ वटा उजुरी परेकोमा ९७९ वटा उजुरीको फस्र्योट गरिएको छ । जसमा ५९० वटा उजुरीबाट सात करोड २० लाख आठ हजार ३५० रुपियाँ बराबरको रकम क्षतिपूर्ति भराएको छ ।

शाखाले सो अवधिमा आएका उजुरीमध्ये १२३ जनालाई आपसी सहमति गराएको छ भने ३३ वटा उजुरी तामेलीमा राखेको छ । सो शाखाले वैदेशिक रोजगारीका क्रममा समस्यामा परेका १६९ जनालाई विभिन्न देशबाट उद्धार गरेर स्वदेश ल्याउन सफल भएको छ ।

विभागका महानिर्देशक भट्टराईले वैदेशिक रोजगारीका क्रममा परेका उजुरीमध्ये ठुलो सङ्ख्याका व्यक्तिगत भएकाले ती उजुरी टुङ्गो लगाउन समय लाग्ने बताउनुभयो ।

संस्थागत उजुरीको हकमा कारबाही गर्न पनि सहज हुने तर व्यक्तिगत उजुरीका दोषी पत्ता लगाउनै नै समय लाग्ने उहाँको भनाइ छ ।

विभागमा मध्यपूर्वका देश खाडी र मलेसिया जाने श्रमिकभन्दा अमेरिका, क्यानडा, पोर्चुगल, पोल्यान्ड जस्ता देश पठाइदिन्छु भन्दै लाखौँ रुपियाँ ठगी भएको उजुरी गर्न विभाग आउनेको सङ्ख्या पनि ठुलो छ । यस्तो उजुरीमा विभागले प्रमाण भएको अवस्थामा मात्रै कारबाही र क्षतिपूर्ति दिलाउने गरेकोे छ ।

विभागका अनुसार आव २०८०।८१ मा सात हजार ७६३ वटा उजुरी दर्ता भएका थिए । त्यसअघि आव २०७९।८० मा वैदेशिक रोजगारीका क्रममा ठगी भएका उजुरीको सङ्ख्या तीन हजार ३५६ उजुरी दर्ता भएका थिए ।

प्रतिक्रिया राख्‍नुहोस्

सम्बन्धित खबर

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker go get the website work properly.