स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले कोरोना भाइरसको डेल्टा भेरिएन्टसहित थप तीन भेरिएन्टको चुनौती थपिएको जनाउँदै सङ्क्रमण रोकथाम तथा नियन्त्रणमा संवेदशील हुन सम्बद्ध सबैमा आग्रह गरेको छ ।

राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालाले सङ्कलन गरेको ४७ जनाको नमूनाको विश्व स्वास्थ्य सङ्गठनले प्रमाणित गरेको नयाँ दिल्लीस्थित प्रयोगशालामा परीक्षण गर्दा तिनमा डेल्टा भेरिएन्ट पुष्टि भएको तथा अल्फा भेरिएन्ट, डेल्टा भेरिएन्ट र कप्पा भेरिएन्टका उत्परिवर्तन फेला परेको जानकारी दिएको छ ।
मन्त्रालयले सर्वसाधारणलाई जनस्वास्थ्यका मापदण्ड पालना गर्न र सम्भावित तेस्रो लहरको तयारीमा जुट्न स्वास्थ्य सेवा प्रदायक निकाय र स्वास्थ्यकर्मीहरूमा अनुरोध गरेको छ ।
स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले ६ सय ५५ स्थानीय तहलाई आधारभूत अस्पतालका लागि विस्तृत परियोजना विवरण (डिपिआर) पठाउन आग्रह गरेको छ ।
मन्त्रालयले ती स्थानीय तहले आधारभूत अस्पताल निर्माणका लागि डिपिआर नबुझाउँदा अस्पताल निर्माणका लागि बजेट विनियोजन गर्न समस्या परेकाले सो आग्रह गरेको हो । मन्त्रालयको नीति योजना तथा अनुगमन महाशाखामा प्रमुख डा गुणराज लोहनीले ती स्थानीय तहमा अस्पताल निर्माणका लागि आवश्यक जग्गाको सुनिश्चितता र डिपिआर तयार गरी पठाउन निर्देशन दिइएको जानकारी दिनुभयो ।
मन्त्रालयले आर्थिक वर्ष २०७७/२०७८ मा ३९६ स्थानीय तह र आव २०७८/२०७९ मा २५९ स्थानीय तहमा पाँचदेखि १५ शय्याका आधारभूत अस्पताल निर्माण गर्ने निर्णय गरेको थियो । तीन सय ९६ स्थानीय तहबाट अहिलेसम्म जग्गाको उपलब्धता, डिपिआर र बोलपत्र सम्झौता भइनसकेको र २५९ स्थानीय तहको लागि जग्गाको सुनिश्चितता, डिपिआर तयार गरी पेश गर्न मन्त्रालयले पटक–पटक आग्रह गर्दा पनि नपठाएको उहाँले बताउनुभयो । मन्त्रालयले डिपिआर पेश गरेका मात्र स्थानीय तहलाई बजेट विनियोजना गरिने जनाएको छ ।
प्रतिक्रिया राख्नुहोस्