सिन्धुलीगढीमा युद्ध सङ्ग्रहालय : राष्ट्रपति भण्डारीले उद्घाटन गर्ने (भिडियो सहित)
सिन्धुलीगढीमा नेपाली सेनाले शुरु गरेको युद्ध सङ्ग्रहालयको निर्माण सम्पन्न भएको छ । युद्ध सङ्ग्रहालयको आज राष्ट्रपति विद्यादेवी भण्डारीले उद्घाटन गर्नुहुने भएको छ । नेपाली सेनाले करिब रु सात करोड लगानीमा बनाएको युद्ध सङ्ग्रहालय भवन र सजावटको काम सकिएको छ ।

सिन्धुलीगढी युद्ध सङ्ग्रहालय भवनको निर्माण काम न्यू ड्रागनरसिद्धगढी जेभी कोटेश्वरले गरेको थियो । भवनको डिजाइन आर्किटेक्निक डेभलपमेन्टले गरेको हो । यस्तै भित्री सजावटको काम अल्टरनेट इन्फ्रास्ट्रक्चर प्रालि धुलिखेलले गरेको छ ।
सङ्ग्रहालयमा युद्धकालीन अवस्थाका पात्र, सिन्धुलीगढी युद्धका घटनाक्रम, सैनिकका आँखामा युद्धको परिदृश्य, सिन्धुलीगढी युद्धका वृत्तचित्र, चरणबद्ध युद्धका चित्र, तत्कालीन युद्धमा प्रयोग भएका घरेलु हतियार, युद्धकालीन हातहतियार, अङ्ग्रेजहरुले प्रयोग गरेका तोप, नेपाली योद्धा, बेलायती योद्धा, नेपाली योद्धाका कलाचित्र, मिथिला कला, बेलायतीहरुको नाममा बनाइएका स्तम्भ, युद्धकालीन शिलालेख, ऐतिहासिक दस्तावेज तथा इतिहासका पुस्तकालय राखिएको छ ।
नेपालले अंग्रेज साम्राज्यलाई परास्त गरेको सिन्धुलीगढी अन्तर्राष्ट्रिय पर्यटकीय गन्तव्य बन्ने
सिन्धुलीगढी युद्ध सङ्ग्रहालयको विसं २०७३ कात्तिक २४ गते पूर्वउपप्रधानमन्त्री तथा रक्षामन्त्री ईश्वर पोखरेलले शिलान्यास गर्नुभएको थियो । नेपाल एकीकरणका क्रममा विसं १८२४ असोजमा सिन्धुलीगढीको युद्धमा काठमाडौं कब्जा गर्न इष्टइन्डिया कम्पनीका कप्तान किनलोकको नेतृत्वमा आएको आधुनिक हतियारले सुसज्जित अङ्ग्रेज सेनालाई बंसु गुरुङको नेतृत्वमा गोर्खाली सेनाले हराएको जानकारहरु बताउँछन् ।
विश्व साम्राज्य विस्तारका लागि हिँडेको अङ्ग्रेज फौज (तत्कालीन इष्ट इण्डिया कम्पनी) लाई परास्त गरेको ऐतिहासिक सामरिक महत्वको सिन्धुलीगढीलाई अन्तरराष्ट्रियरुपमा प्रवद्र्धन गरिने भएको छ । तत्कालीन इष्ट इण्डिया कम्पनीका कप्तान किन लकको नेतृत्वमा संसारभर आफ्नो साम्राज्य जन्माउँदै हिँडेका अङ्ग्रेजले सिन्धुलीगढीमा पहिलोपटक गोर्खाली सेनासँग हार बेहोर्नुपरेको थियो ।
सोही कारण नेपालीको शिर सधैंँ उच्च रहेको छ र नेपालले आजसम्म स्वाभिमानी राष्ट्रका रुपमा आफूलाई चिनाउँदै आएको छ । काठमाडौँदेखि १५० किलोमिटर दूरीमा रहेको सिन्धुलीगढी नेपाली स्वाभिमानको प्रतिक मात्र नभई आधुनिक नेपालका लागि गर्विलो इतिहास बोकेको स्थल पनि हो । सिन्धुलीगढी नेपाल–अङ्ग्रेज युद्धको जीवित दस्तावेज हो । अङ्ग्रेज फौजलाई सिन्धुलीगढीमा गोर्खाली सेनाले घरेलु हतियारकै भरमा पराजित गरेकाले उक्त स्थल विश्वकै लागि कौतुहलताको विषय बन्न सक्छ ।
युद्धसंग्रहालयको माग गर्दै एनआईटिभी मिडियाले बनाएको यो भिडियो
प्रतिक्रिया राख्नुहोस्