खेलविविध

गौरिका तेस्रो स्थानमा रहँदै ओलम्पिकबाट बाहिर- आफ्नै कीर्तिमानमा भने सुधार

सन् २०१६ को रियो ओलम्पिकमा सबैभन्दा कम उमेरकी खेलाडीको कीर्तिमान बनाएकी गौरिका सिंह टोकियो ओलम्पिकका महिला १०० मिटर फ्रिस्टाइलमा लङ कोर्समा आफ्नो कीर्तिमान सुधार गर्दै बाहिरिएकी छिन् ।

चार खेलाडी सहभागी रहेको टोकियोस्थित एक्वाटिक्स सेन्टरमा बुधबार भएको महिला १०० मिटर फ्रिस्टाइलमा गौरिकाले १ मिनेट ००.११ सेकेण्ड समय निकाल्दै तेस्रो स्थानमा रहिन् ।

सुरुको ५० मिटरमा गौरिका अघि रहे पनि पछिल्लो ५० मिटरमा उनले राम्रो प्रदर्शन गर्न सकिनन् । यो चरणमा नाइजेरियाकी अबिओला ओगुनबाङ्गो ५९.७४ सेकेण्ड टाइमिङसहित पहिलो स्थानमा रहिन् । यस्तै मोन्टेनेग्रोकी एन्डेला अन्टुनोभिक १ मिनेट ००.०१ सेकेण्डसहित दोस्रो स्थानमा रहिन् ।

यस स्पर्धामा कूल ५१ खेलाडीको सहभागिता छ र उत्कृष्ट समय निकाल्ने १६ खेलाडी मात्र सेमिफाइनलमा प्रवेश गरेका छन् । लगातार दोस्रो पटक ओलम्पिकमा सहभागिता जनाएकी गौरिकाले अर्का पौडी खेलाडी एलेक्ससंगै टोकियो ओलम्पिकको उद्घाटनमा नेपालको झण्डा बोकेका थिए ।

टोकियो ओलम्पिकमा नेपालबाट चार खेलका ५ खेलाडीले सहभागिता जनाएका थिए । जसमध्ये चार खेलाडीको प्रतिस्पर्धा सकिएको छ । अब एथ्लेटिक्सकी सरस्वती चौधरीले शुक्रबार महिला १०० मिटरमा प्रतिस्पर्धा गर्नेछिन् ।

प्रतिक्रिया राख्नुहोस्

सम्बन्धित खबर

Back to top button