संस्कृति

साउन महिना : हरियो मकैको व्यापार बढ्दा माछामासुको घट्यो

साउन महिना चोखो र पवित्र महिना मानिएकाले माछामासुको व्यापार आधाले घटेको छ । यसै अवधिमा हरियो मकै लगायतको व्यापार भने बढेको छ ।

विगत केही वर्षयता हरेक साउनमा मासुको व्यापार आधाभन्दा बढीले घट्ने गरेको छ । साउन महिनालाई चोखो र पवित्रको महिना मानिन्छ । यस महिनामा व्रत बस्ने र माछामासु नखाने सर्वसाधारण बढेपछि कारोबार घटेको हो ।

विगत २० वर्षदेखि कलङ्कीमा मासु व्यापार गर्दै आउनुभएक सन्दीप महर्जनका अनुसार साउन महिना लागेसँगै माछामासुको व्यापारमा आधाले कमी आएको छ ।

“अन्य समयमा दैनिक १५० वटा कुखुरा खपत हुन्थ्यो भने अहिले दैनिक ८० खपत हुन पनि मुस्किल छ”, उहाँले भन्नुभयो, “सोमबार त झन् अत्यन्तै कम सङ्ख्यामा बिक्री हुने गरेको छ ।”

गतका वर्षमा पनि साउन महिना लागेपछि माछामासुको व्यापार कमी हुने गरेको थियो । यस वर्ष भने अझै व्यापारमा कमी आएको उहाँले अनुभव सुनाउनुभयो । अहिले बिहे, भोजलगायतका कार्यक्रम नहुँदा पनि त्यसको असर मासु व्यवसायमा परेको छ । उहाँ भन्नुहुन्छ, “अहीले पसल सुनसान छ ।”

कलङ्कीको अर्का मासु व्यापारी देव रानाले पनि साउन महिनाले सामुको व्यापारमा विरावट आएको गुनासो गर्नुभयो । असार महिनासम्म दैनिक ३० किलोसम्म सामु बेच्ने गर्नुभएको रानाले अहिले १५ किलो बिक्री हुन पनि मुस्किल रहेको सुनाउनुभयो ।

हाल राजधानीका करिब तीन हजारको सङ्ख्यामा मासु व्यवसायी छन् । करिब एक हजारको सङ्ख्यामा सानाठूला पशुवधस्थल छन । सानाठूला गरी राँगाभैँसीका करिब २५० वधस्थल छन् ।

पछिल्लो समय कामपामा मापदण्ड बमोजिम दर्ता नगरी माछामासु व्यवसाय सञ्चालन गर्नेहरूको हाबी रहेको कामपाको वरिष्ठ पशु चिकित्सक डा अवधेश झाले जानकारी दिनुभयो ।

यसलाई थप व्यवस्थापन गर्नका लागि कामपाले नियमित रूपमा अनुगमन गरिरहेको उहाँको भनाइ छ । माछामासु व्यवसाय गर्नेहरू धेरैलाई यो व्यवसाय कसी गर्ने भन्ने सामान्य ज्ञानसमेत नभएको झाको भनाइ छ ।

बाह्रदेखि २५ घण्टाको यात्रामा उभ्याएर राख्ने, नाकमा डोरीले बाँधिएको, मुखबाट फिँज निस्केको र शरीरभरि काटिएका, डाम भएका अवस्थामा पशु गन्तव्यमा आइपुग्ने जस्ता विषय सामान्य ज्ञान नहुनुको परिणाम हो, झाले भन्नुभयो ।

प्रतिक्रिया राख्‍नुहोस्

सम्बन्धित खबर

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker go get the website work properly.