त्रिविमा ‘सुशासन तथा भ्रष्टाचार निवारण’को अध्यापन
त्रिभुवन विश्वविद्यालय भ्रष्टाचारविरुद्धको विषयमा पढाइ हुने विश्वमै पहिलो
सुशासन, सदाचार र नैतिकताको चरम खडेरी परिरहेका बेला मुलुकको सबभन्दा ठूलो र जेठो विश्वविद्यालय त्रिभुवन विश्वविद्यालयले मानविकी तथा सामाजिक शास्त्र सङ्कायअन्तर्गत स्नातकोत्तर तहमा ‘सुशासन तथा भ्रष्टाचार निवारण’ विषयको अध्यापन गराउने भएको छ ।
यसै आर्थिक वर्षबाट सो विषयको अध्यापन गराउन लागिएको हो । विश्वविद्यालयले आउँदो भदौ १६ गतेदेखि सो विषयको प्रथम सेमेष्टारको पठनपाठन गर्ने तयारी गरेको कार्यक्रम संयोजक डा योगेश रञ्जितले जानकारी दिनुभयो । दुई वर्षे यो विषय पढ्नका लागि रु एक लाख ७३ हजार लाग्ने जनाइएको छ ।
विश्वमा नभएको अन्तर्राष्ट्रियस्तरको पढाइलाई ध्यान दिएर अगाडि बढ्न आवश्यक छ भन्दै शंकाय डिन डा कुसुम शाक्यले नेपालमा यस विषयको पढाइले समाज परिवर्तनका लगि महत्वपूर्ण भूमिका निर्वाह गर्ने बताउनुभयो ।
नेपाल सरकारका विभिन्न निकायका साथै राष्ट्रिय तथा अन्तर्राष्ट्रिय सङ्घसंस्थासँग समन्वय र सहकार्य गरेर भ्रष्टाचार न्यूनिकरण गर्ने योजना रहेको बताउनुभएका सामाजिक अभियान्ता भरत जङ्गमले पाँच दशकपछि आफ्नो सपना साकार भएकामा खुशी व्यक्त गर्नुभयो । भ्रष्टाचारविरुद्धको विषयमा पढाइ हुने विश्वमै नेपालको त्रिभुवन विश्वविद्यालय पहिलो भएको उहाँको जिकिर थियो ।
अर्थशास्त्र केन्द्रीय विभाग प्रमुख डा शिवलाल अधिकारीले सबै क्षेत्रमा हुने भ्रष्टाचार नियन्त्रणका लागि विज्ञ व्यक्तिको आवश्यकता पर्ने भएकाले यो विषयको अध्ययनबाट राष्ट्रिय तथा अन्तर्राष्ट्रियस्तरमा रोजगरीको अवसर मिल्ने विश्वास व्यक्त गर्नुभयो ।
प्रतिक्रिया राख्नुहोस्