नेपाली मौलिक लोकसंस्कृति संरक्षण र प्रबद्र्धनमा दोहोरी च्याम्पियन
दोहोरी गीत नेपालको मौलिक संस्कृति हो । अझ भनौं धाराप्रवाह स्थलमै बसेर छिनकोछिनमा गीतका जवाफ गीतबाटै दिनसक्ने प्रतिभाहरुको प्रतिस्पर्धा । यस्तो प्रतिस्पर्धा विश्वमा दुर्लभ नै हुन्छ ।

साहित्यमा धाराप्रवाह कविता लेख्नसक्नेलाई आँसुकवि भनेजस्तै दिनभर, रातभर गीत गाइरहनसक्ने दोहोरी गायक गायिकालाई आँसु गायकगायिका भन्न सकिन्छ ।
यस्तै धाराप्रवाह गीत गाउन सक्ने लोकप्रतिभालाई अझ उजागर गर्न राष्ट्रको संचार नेपाल टेलिभिजनले हरेक शनिबार दोहोरी प्रतिस्पर्धाको आयोजना गरिरहेको छ । शनिबार राति ८ः५० बजे प्रसारण हुने यो प्रतियोगिता यसअघिका कुनै पनि रियालिटी सोभन्दा भिन्न, मौलिक र नेपाली सुगन्ध छरिएको प्रतियोगिता हो ।
नेपाली लोकदोहोरीका पितामहका रुपमा चर्चित प्रजापति पराजुली, सिता थापा, रमेश बिसी, चन्द्र शर्मा निर्णायक रहनुभएको प्रतियोगिताको संचालन चर्चित गायक बद्री पंगेनी र प्रिती आलेले गर्नुभएको छ ।
दोहोरी गीत मननपर्ने कोही छैन, जब यस्ता गीत घन्किन्छन् तब स्वाभाविक रुपमा हात, खुट्टा र टाउको हल्लन थाल्छ, शरीर आफसेआफ नृत्य गर्न थाल्छ । यो नेपाली लोक दोहोरीको शक्ति हो । यो शक्तिलाई, यो प्रतिभालाई विश्वमाझ चिनाउन नेपाल टेलिभिजनले गरेको कार्य सह्रानीय छ ।
प्रतियोगिताको उपाधी कसले जित्छ त्यो अबको केही महिनापछि थाहा हुनेछ । तर यसको साँचो अब आमदर्शकहरुको हातमा आइपुगेको छ । कसलाई जिताउने, कसको प्रस्तुति उत्कष्ट रह्यो यो तपाईहरुले नै निर्णय गर्नुपर्ने भएकाले यो साताका प्रतिस्पर्धीमध्ये आफूलाई मनपरेको समूहलाई जिताउन नेपाल टेलिभिजनको मोबाइल एप वा मोबाइलकोा म्यासेज बक्समा गएर भोट गर्न सकिनेछ ।
प्रतिक्रिया राख्नुहोस्