जल/वातावरण

‘इकोसिष्टम’ कायम राख्नेदेखि धनआर्जनमा समेत बाघको भूमिका

पाटे बाघ

प्रकृति अनुकूल हुन यसको आफ्नै नियम छ र यो नियमलाई इको सिष्टम भनिन्छ । इको सिष्टम नै प्रकृति सन्तुलन र स्वस्थ वातावरणको आधार हो र यसमा बाघको भूमिका सबभन्दा महत्वपूर्ण मानिन्छ । यसै भएर बाघ संरक्षणमा विश्व लागिपरेको छ ।

एक दशकयता जुलाई २९ का दिन विश्वभर बाघ दिवस मनाउँदै बाघ संरक्षणका लागि ठूलो धनराशी पनि खर्च भैरहेको छ । हुन पनि बाघ अहिले विश्वबाट लोपोन्मुख अवस्थामा छ ।

७० वर्ष अघिसम्मम विश्वमा एक लाखको हाराहारीमा रहेको बाघ रहेकोमा सन् २०१० सम्म आइपुग्दा तीन हजारमा झरेपछि २०२२ सम्म यो संख्या दोब्बर बनाउने पहल थालिएको छ । बाघको संख्या जति बढ्दै जान्छ वातावरण शुद्धता उति बढ्छ । अर्को महत्वपूर्ण कुरा के छ भने विश्वका सबै मुलुकमा बाघ पाइँदैन ।

बाघका नौ प्रजातिमध्ये तीन प्रजाति लोप भइसकेका छन् । यसको प्रमुख कारण भनेको वन विनाश र चोरी शिकारी हो । बाघ संरक्षणकै लागि वन विकास भैरहेको छ । बाघ घना जंगलमा बस्न रुचाउने भएकाले यसका लागि उपयुक्त बासस्थानकै लागि वन विस्तार गर्नुपर्ने हुन्छ ।

जलवायु परिवर्तनका कारण दूषित हुँदै गएको वातावरण शुद्धतामा वनको भूमिका सबैभन्दा महत्वपूर्ण रहेकोमा त कसैको विमती हुने कुरै भएन । एउटा वयस्क बाघलाई ४० वर्गकिलोमिटर क्षेत्रफल चाहिन्छ । बाघ संरक्षणकै लागि वन विकास गर्नैपर्ने बाध्यता अहिले विश्वलाई छ ।

वातावरण स्वस्थ राख्न र इको सिस्टम नविगार्न बाघ संरक्षण अनि आवश्यक भएकैले यो वर्षको नारा ‘स्वस्थ वातावरणका लागि बाघ संरक्षण’ राखियो । बाघका लागि नेपाल महत्वपूर्ण क्षेत्र हो । नेपालमा दुर्लभ प्रजातिको पाटे बाघ पनि पाइन्छ । नेपालमा पाइने पाटे बाघ भारत, भुटान र बंगलादेशमा मात्रै पाइने गरेको विज्ञहरु बताउँछन् ।

सन् २०१० मा रुसको सेन्ट पिटर्सवर्गमा सम्पन्न विश्व बाघ सम्मेलनले हरेक वर्ष २९ जुलाईका दिनलाई अन्तर्राष्ट्रिय बाघ दिवस मनाउने घोषणा गरेअनुरुप आज नेपालमा पनि यो दिवस मनाउन लागिएको हो । नेपालले विसं २०६७ देखि बाघ दिवस मनाउँदै आएको छ । नेपाललगायत विश्वका १३ देशमा पाटेबाघ पाइन्छ । विश्वमा बाघ पाइने १३ मुलुकका सरकार तथा राष्ट्र प्रमुखको सेन्टपिटर्सवर्ग सम्मेलनले बाघको सङ्ख्यालाई सन् २०२२ सम्ममा दोब्बर बनाउने प्रतिबद्धता गरेको थियो ।
सो प्रतिबद्धताअनुसार नेपालले सन् २००९ को गणना अनुसार नेपालमा रहेका तत्कालीन बाघको सङ्ख्या १२१ लाई दोब्बरभन्दा पनि बढी २५० वयस्क बाघ पु¥याउने प्रतिबद्धता गरेको थियो । जुन लक्ष्य हासिल हुने दिशामा नजिक रहेको वन्यजन्तु विभागका प्रवक्ता विष्णुप्रसाद श्रेष्ठले जानकारी दिनुभयो ।

मन्त्रालयले गत वर्ष पछिल्लो राष्ट्रिय बाघ गणना २०१८ को नतिजा सार्वजनिक गरेको थियो । उक्त गणनाअनुुसार नेपालमा बाघको सङ्ख्या २३५ पुगेको छ । तीमध्ये चितवन राष्ट्रिय निकुञ्जमा ९३, बर्दिया राष्ट्रिय निकुञ्जमा ८७, बाँके राष्ट्रिय निकुञ्जमा २१, पर्सा राष्ट्रिय निकुञ्जमा १८ र शुक्लाफाँटा राष्ट्रिय निकुञ्ज एवं मध्यवर्ती र आसपासका वन क्षेत्रमा १६ बाघ भेटिएका थिए । यस गणनाका क्रममा क्यामेरामा देखिएका बाघका बच्चाको सङ्ख्या नसमेटिएकाले सन् २०२२ मा नेपालको लक्ष्य पूरा हुने निश्चित देखिएको उहाँले दाबी गर्नुभयो ।

विभागले पर्सादेखि कञ्चनपुरसम्मको तराई क्षेत्रमा आधुनिक क्यामेराको प्रयोगले सन् २०१७ डिसेम्बर १ देखि सन् २०१८ अप्रिल ३ सम्म पछिल्लो बाघगणना गरेको थियो । नेपालमा बाघको सङ्ख्या सन् १९९५ मा ९८, सन् २००० मा १०९, सन् २००५ मा १२६, सन् २००९ मा १२१, सन् २०१३ मा १९८ रहेको विभागको तथ्याङ्क छ । नेपालमा बाघ संरक्षणमा देखिएको सफलता र यसको सङ्ख्यामा भएको वृद्धिलाई विश्व समुदाय नै प्रशंसा गरेको छ ।

नेपालको तराई–भूपरिधि क्षेत्रमा सर्वेक्षण गरिएको १६ हजार १६१ वर्गकिमि क्षेत्रमध्ये ११ हजार ५७ वर्ग किमि (६८ प्रतिशत) मा बाघको उपस्थिति रहेको देखिएको छ । बाघ पाइने संरक्षित क्षेत्रमध्ये ९८ प्रतिशत क्षेत्रमा बाघको उपस्थिति रहेको देखिएको छ । संरक्षित क्षेत्रभन्दा बाहिरको बाघ पाइने क्षेत्रमध्ये ६० प्रतिशत क्षेत्रमा मात्र सो प्रजातिको उपस्थिति रहेको तथ्याङ्कमा उल्लेख छ ।

मुलुकले जैविक विविधता संरक्षणका क्षेत्रमा आशलाग्दो उपलब्धि हासिल भएकाले र बाघ गणनाको पछिल्लो नतिजाले पनि सन् २०२२ मा बाघको सङ्ख्या दोब्बर (२५० वयस्क बाघ) पु¥याउने मुलुकको प्रतिबद्धता पूरा हुने विश्वास गरिएको छ तर बाघको चोरी शिकारी, बढ्दो मानव वन्यजन्तु द्वन्द्व, वन अतिक्रमणसँगै बासस्थान र आहारामा देखिएका कमीले बाघ संरक्षणमा चुनौती पनि कायमै छ ।

विश्वभर बाघको सङ्ख्या तीन हजार ८९० रहेको छ । सन् २०१६ को तथ्याङ्कअनुसार सबैभन्दा बढी भारतमा दुई हजार २२६, सबैभन्दा कम लाओसमा बाघको सङ्ख्या दुई छ । इण्डोनेसिया, कम्बोडिया, चीन, थाइल्याण्ड, नेपाल, बङ्गलादेश, भारत, भुटान, भियतनाम, मलेसिया, म्यान्मा, रसिया र लाओसमा पाटेबाघ पाइन्छ ।

आज बाघकै कारण पर्यटन व्यवसाय फस्टाउको छ । विश्वको लोपोन्मुख यो सुन्दर प्राणीको दर्शन पाउन पर्यटकहरु कैयौं दिन घना जंगलमा डेरा जमाएरै बस्छन् । नेपालको चितवन राष्ट्रिय निकुञ्ज, बर्दिया राष्ट्रिय निकुञ्ज, बाँके राष्ट्रिय निकुञ्ज, शुक्लाफाँटा लगायत आरक्षण केन्द्रहरुमा बाघको संख्या बढेको छ र यी क्षेत्र पर्या पर्यटनका लागि विश्वमै चर्चित थलोका रुपमा विकसित भैरहेको छ ।

आधुनिक समयमा बाघ संरक्षण स्वस्थ वातावरणका लागि मात्र नभएर आयआर्जनको समेत महत्वपूर्ण पक्ष रहेकाले मानिस र बाघको सम्बन्ध प्रत्यक्ष रुममा हिंस्रक देखिए पनि अप्रत्यक्षरुपमाा मित्रवत रहेको छ । त्यसैले त बाघ संरक्षण अनि आवश्यक छ ।

सम्बन्धित खबर

Back to top button