जन सरोकार

निर्मला पन्तको बलात्कार-हत्या प्रकरणमा एसपी विष्टसहित आठ प्रहरीलाई सफाई

कञ्चनपुरकी १३ वर्षीया बालिका निर्मला पन्तको बलात्कार-हत्या प्रकरणमा अपराध लुकाएको लगायतका अभियोग लागेका कञ्चनपुरका तत्कालीन एसपी डिल्लीराज बिष्टसहित मुद्दा परेका आठजना प्रहरीले सफाइ पाएका छन् ।

२०७५ साउन १० गते साथीको घरमा पढ्न भन्दै गएकी निर्मला ११ गते उखुबारीमा मृत अवस्थामा फेला परेकी थिइन् । उनीमाथि बलात्कार भएको पोष्टमार्टम रिपोर्टले देखाएको थियो ।

दुई वर्ष बितिसक्दा पनि पन्त बलात्कार र हत्याका मुख्य अभियुक्त पक्राउ पर्न नसकेका बेला सुरुमा अनुसन्धानका क्रममा ‘यातना दिएको’ र ‘सार्वजनिक न्यायविरूद्धको कसुर’मा मुद्दा परेका प्रहरीलाई कञ्चनपुर जिल्ला अदालतले सफाइ दिएको हो ।

बिहीबार न्यायाधीश गोपालप्रसाद बास्तोलाको इजलासले बिस्टसहित सिआइबीका तत्कालीन डिएसपी अंगुर जिसी, प्रहरी कर्मचारीहरू ज्ञानबहादुर सेठी, हरसिंह धामी, रामसिंह धामी, एकेन्द्र खड्का, जगदीशप्रसाद भट्ट, र चाँदनी साउदलाई सफाइ दिइएको हो ।

जिल्ला अदालत कञ्चनपुरका श्रेष्तेदार यदुनाथ शर्माले उनीहरूमाथि लागेको आरोप सावित नभएपछि सफाइ दिइएको बताउँदै निजलाई यातना दिएको नदेखिएको, रिपोर्टमा कुनै घाउचोट नदेखिएको, अदालतमा आउँदा पनि प्रहरीले यातना दिएन भने आएको बयान र प्रमाण लुकाउने छिपाउने गरेको नदेखिएको भन्दै सफाइ दिने फैसला भएको जानकारी दिनुभयो ।

उनीहरूविरूद्ध निर्मला प्रकरणका प्रमाण नष्ट गरेको र अनुसन्धानका क्रममा पक्राउ परेका दीलिपसिंह बिष्टलाई यातना दिएको भन्दै प्रहरीले मुद्दा दायर गरेको थियो ।

निर्मलालाई बलात्कार गरी हत्या गरेको आशंकामा प्रहरीले स्थानीय दीलिपसिंह बिष्टलाई पक्राउ गरेको थियो । बिष्टले आफूले निर्मलालाई हत्या गरेको स्वीकारेको प्रहरीको दाबी थियो । तर निर्मलाको भजाइनल स्वावको नमूनासँग बिष्टको डिएनए नमिलेपछि उनलाई छोडिएको थियो ।

निर्मला बलात्कारपछि हत्याकाण्डको प्रारम्भिक छानबिनदेखि नै प्रहरीले लापरबाही गरेको भन्दै कन्चनपुरमा आन्दोलनसमेत भएको थियो । आन्दोलनका क्रममा एक जनाको ज्यान गएको थियो । उक्त घटनाको छानबिन गर्न भन्दै सरकारले र प्रहरीले छानबिन समितिहरू बनाए पनि अहिलेसम्म अपराधी पत्ता लागेको छैन ।

प्रतिक्रिया राख्‍नुहोस्

सम्बन्धित खबर

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker go get the website work properly.