कोरोना संक्रमित बढ्न थालेपछि विभिन्न जिल्लामा निषेधाज्ञा जारी
सरकारले लकडाउन खुला गरेपछि आवतजावत बढ्दै जाँदा कोरोना संक्रमण व्यक्ति हुँदै समुदायमा फैलिएको आशंका भैरहेको छ । विभिन्न जिल्लामा सुरक्षाकर्मीदेखि स्वास्थ्यकर्मी तथा सर्वसाधारणमा समूतगत संक्रमण देखिएपछि जिल्लाहरुमा निषेधाज्ञा जारी गरिएको छ ।
यसै क्रममा महोत्तरीको जलेश्वर नगरपालिका बिहिबारदेखि अनिश्चितकालका लागि बन्द भएको छ । प्रमुख प्रशासकीय अधिकृत रामुराज कडरियाले आज एक सूचना प्रकाशित गर्दै कोरोना भाइरसको सङ्क्रमणको रोकथाम तथा नियन्त्रणका लागि अर्को सूचना नहुञ्जेलसम्मका लागि जलेश्वर नगरपालिका बन्द गरिएको जनाउनुभएको छ ।
उहाँले अति आवश्यक कामबाहेक जलेश्वर नगरपालिकाको सम्पूर्ण कामकाज अनिश्चितका लागि बन्द रहने सूचनामा उल्लेख गर्नुभएको छ । साथै विश्वभरि महामारीका रूपमा फैलिएको कोरोनाको उच्च जोखिममा रहेका जलेश्वर नगरवासीलाई सतर्कता अपनाइ नगरपालिकालाई सहयोग गर्न अपिलसमेत गर्नुभएको छ ।
यसै गरी जिल्ला प्रशासन कार्यालय बाँकेले आइतबारदेखि तीन दिनसम्मका लागि जिल्लाभर पूर्णरुपमा निषेधाज्ञा जारी गर्ने तयारी गरेको छ । समुदायस्तरमा कोरोना सङ्क्रमणको जोखिम अत्यधिक बढेसँगै प्रशासनले निषेधाज्ञा जारी गर्ने भएको प्रमुख जिल्ला अधिकारी रामबहादुर कुरूम्वाङले जानकारी दिनुभयो ।
नेपालगञ्जमा समुदायस्तरमा गरिएको कोरोना परीक्षणमा कर्मचारीसहित २७ जनामा सङ्क्रमण देखिएपछि निषेधाज्ञा जारी गर्ने तयारी गरिएको हो । गत आइतबार कन्टयाक्ट ट्रेसिङ गरी आन्तरिक राजश्व कार्यालय नेपालगञ्जबाट ६८, त्रिभुवनचोकको मिठाइ पसल आसपासबाट ११५ र यातायात व्यवस्था कार्यालय क्षेत्रबाट सङ्कलन गरिएको २८ स्वाब परीक्षणका क्रममा आन्तरिक राजश्व कार्यालय नेपालगञ्जका थप ११ कर्मचारीसहित नेपालगञ्जका २७ जनामा आज सङ्क्रमण देखिएको छ ।
प्रतिक्रिया राख्नुहोस्