राजनीति

चुरे क्षेत्रमा मत्स्यपालन र पोखरी निर्माण गरी पानी रिचार्ज गरिन्छ : प्रधानमन्त्री ओली

प्रधानमन्त्री केपी शर्मा ओलीले देशमा परिर्वतन ल्याउनका लागि योगदान गरेका दुई ठूला दलको सरकार देश विकासका लागि प्रतिबद्ध रहेको बताउँदै चुरे क्षेत्रमा मत्स्यपालन र पोखरी निर्माण गरी पानी रिचार्ज गर्नेतर्फ सरकारको ध्यान गएको बताउनुभएको छ ।

कैलालीको पूर्वी क्षेत्रमा निर्माणाधीन राष्ट्रिय गौरवको रानीजमरा कुलरिया सिँचाइ आयोजनाको दोस्रो चरणमा निर्माण पूरा भएको सिँचाइ प्रणाली र विद्युत्गृहको आज उद्घाटन गर्दै प्रधानमन्त्री ओलीले सो कुरा बताउनुभएको हो ।

प्रधानमन्त्री ओलीले भन्नुभयो, “देशमा स्थिरता, स्थायित्व, विकास, सुशासन ल्याउन र भ्रष्टाचार नियन्त्रण गर्न सरकार प्रतिबद्ध छ, आगामी चुनावसम्म यो सरकार जान्छ ।”

रानीजमरा कुलरिया सिँचाइ आयोजनाको निर्माणबाट सरकारको विकासप्रतिको चाहाना एवं तीव्रता दिने कुरालाई झल्काएको उल्लेख गर्दै उहाँले यो आयोजनाको तेस्रो चरणको काम पनि पूरा गर्ने प्रतिबद्धता व्यक्त गर्नुभयो ।

प्रधानमन्त्री ओलीले १२० वर्षदेखिको परम्परागत सीपबाट सुरू भएको यो सिँचाइ प्रणालीलाई आधुनिक स्वरूपमा विस्तार गरिएको उल्लेख गर्दै स्थानीयको जनसहभागिता र सरकारको समन्वयबाट आजको यो सफलता प्राप्त भएको बताउनुभयो ।

देश विकासका लागि प्रतिबद्ध रहेका उहाँले यो सिँचाइ आयोजना निर्माणबाट नेपालको जलस्रोत तथा ग्रामीण कृषि क्षेत्रको विकासमा ऐतिहासिक उपलब्धि भएको बताउनुभयो । यस आयोजनाले ग्रामीण जीवनशैली परिवर्तन कृषि उत्पादनमा वृद्धि ऊर्जामा आत्मनिर्भर खाद्य सुरक्षामा टेवा पुर्याउन सहयोग गर्ने उहाँले विश्वास व्यक्त गर्नुभयो ।

प्रधानमन्त्री ओलीले भन्नुभयो, “सोमबार बसेको मन्त्रिपरिषद्को बैठकले यो सिँचाइ आयोजनाको तेस्रो चरणको काम अघि बढाउन विश्व बैंकसँग ऋण लिने निर्णय गरेको छ ।”

उहाँले मधेसमा देखिएको सुक्खाग्रस्त समस्याका साथै खानेपानीको अभाव समाधान गर्न ५०० वटा डिप बोडिङ जडान गर्न लागेको जानकारी दिनुभयो । चुरे संरक्षणका लागि चुरे क्षेत्रमा मत्स्यपालन र पोखरी निर्माण गरी पानी रिचार्ज हुनसक्ने भएकाले सरकारको ध्यान यसतर्फ गएको उहाँले बताउनुभयो ।

सुनकोशी मरिन डाइभर्सन, भेरी बबै सिँचाइ आयोजना, तम्मोर डाइभर्सनलगायत महत्त्वपूर्ण आयोजनाको निमार्ण पूरा गर्न सरकारले ध्यान दिएको उहाँले बताउनुभयो ।

सामाजिक संस्कृति, सभ्यता मूल्यमान्यताविपरीत एकथरीले जथाभावी गाली गर्ने, सामाजिक सञ्जालमा खाली लेख्ने, हरेक विकासका काममा विरोध गर्ने गरेकोप्रति उहाँले असन्तुष्टी व्यक्त गर्नुभयो ।

ऊर्जा जल स्रोत सिँचाइमन्त्री दिपक खड्काले दुई ठूला दल एक ठाउामा उभिएर काम गर्दा राजनीतिक परिवर्तन र देश विकासको सवालमा प्रतिफल दिइरहेको बताउँदै हरेक दलहरू जिम्मेवार हुनुपर्नेमा जोड दिनुभयो । उहाँले यो सिँचाइ आयोजनामा निर्माण भएको विद्युत् गृहबाट वार्षिक राम्रो आम्दानी हुने देखिएको उल्लेख गर्नुभयो ।

सुदूरपश्चिमका मुख्यमन्त्री कमलबहादुर शाहले सिँचाइ आयोजनाको निर्माण भएबाट मुलुकले समृद्धिको आधार तय गरेको अनुभव भएको सुनाउनुभयो । उहाँले सुदूरपश्चिम जलस्रोतमा धनी भए पनि यसको सही सदुपयोग हुन नसकेकाले उपयोग गर्नुपर्नेमा जोड दिनुभयो ।

मुख्यमन्त्रीले प्रदेशका महत्त्वपूर्ण सडक सञ्जाल, गेटा विश्वविद्यालय र रानीजमरा कुलरिया सिँचाइ आयोजनाको बाँकी खण्डको निमार्णका लागि पर्याप्त बजेट छुट्याउन व्यावस्था गर्न प्रधानमन्त्रीसँग आग्रह गर्नुभयो ।

जलस्रोत तथा सिँचाइ विभागका महानिर्देशक सञ्जीव बरालले पहिलो तथा दोस्रो चरणमा निर्माण भएको नहरसहितको सिँचाइ प्रणालीबाट १४ हजार ३०० क्षेत्रफल जग्गामा सिँचाइ पुगेको र विद्युत्गृहबाट चार दशमलव ७१ मेगावाट विद्युत् उत्पादन भएको जानकारी दिनुभयो । सिँचाइ प्रणालीबाट स्थायी रूपमा सिँचाइ सुविधा उपलब्ध हुँदा धान, गहुँ र मकैको उत्पादकत्व वृद्धि भएको जानकारी दिनुभयो ।

यसअघि प्रधानमन्त्री ओलीले यो सिँचाइ आयोजनाको कर्णाली नदीमा रहेको मुख्य मुहान (इन्टेक) को स्थलगत निरीक्षण अनुगमन गर्नुभएको थियो ।

प्रधानमन्त्रीको स्थलगत निरीक्षण टोलीमा ऊर्जा जल स्रोत तथा सिँचाइमन्त्री खड्का, सुदूरपश्चिमका मुख्यमन्त्री शाह, मन्त्रालय र सिँचाइ विभागका पदाधिकारीहरूको सहभागीता रहेको थियो ।

साथै सिँचाइ प्रणालीअन्तर्गत नै जानकी गाउँपालिका–९ कटाँसेमा निर्माण पूरा भएको विद्युत्गृहबाट चार दशमलव ७१ मेगावाटको विद्युत् उत्पादन भएको छ । उत्पादित विद्युत् राष्ट्रिय प्रसारण लाइनमा जोडिएको छ ।

सिँचाइ आयोजनाको लम्की शाखातर्फ १४ किलोमिटर ६५० मिटर मूल नहर बनिसकेको छ । यसका शाखा र उपशाखा नहर बनेमा थप छ हजार हेक्टर जमिनमा सिँचाइ पुग्ने र आयोजनाको सिञ्चित क्षेत्र २० हजार ३०० हेक्टर हुनेछ ।

तेस्रो चरणको काम पूरा भएमा यो सिँचाइ आयोजनाबाट कूल ३८ हजार ३०० हेक्टर क्षेत्रफलको जग्गामा बाह्रै महिना सिँचाइ सुविधा पुग्ने आयोजना कार्यालयका प्रमुख प्रेम घिमिरेले जानकारी दिनुभयो ।

आर्थिक वर्ष २०६७/०६८ देखि निर्माण सुरू गरिएको आयोजनाको पहिलो चरण २०७४/०७५ मा सकिएको थियो भने दोस्रो चरण २०८०/०८१ मा सम्पन्न भएको हो ।

अद्यावधिक गुरुयोजनाअनुसार २०८२ मसान्तसम्म रु २० अर्ब ५८ करोड ५६ लाख बराबरको (६९.५५ प्रतिशत) काम र ७५ प्रतिशत भौतिक प्रगति भएको आयोजनाले जनाएको छ ।

विश्व बैंक र नेपाल सरकारको संयुक्त लगानीमा निर्माण भएको यो सिँचाइ आयोजनाअन्तर्गत पहिलो र दोस्रो चरणमा गरी १४ हजार ३०० हेक्टरमा सिँचाइ सुविधा पुगेको छ ।

प्रतिक्रिया राख्‍नुहोस्

सम्बन्धित खबर

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker go get the website work properly.