उपत्यकामा १८ प्रहरीसहित ३८ जनामा कोरोना संक्रमण पुष्टि
काठमाडौँ उपत्यकाका शुक्रबार थप १८ प्रहरीमा कोरोना सङ्क्रमण देखिएको छ । प्रहरी प्रवक्ता, प्रहरी वरिष्ठ उपरीक्षक कुबेर कडायतले हालसम्म काठमाडौँ उपत्यकामा ७२ र उपत्यका बाहिर २५० गरी ३२२ प्रहरीमा कोरोना सङ्क्रमण पुष्टि भएको जानकारी दिनुभयो ।

प्रहरी प्रधान कार्यालय नक्सालको सवारी शाखामा कोभिड–१९ को सङ्क्रमण देखिएपछि कन्ट्याक्ट ट्रेसिङका आधारमा नेपाल प्रहरी अस्पताल महाराजगञ्जमा गरिएको स्वाब सङ्कलनको परीक्षणबाट शुक्रबार बिहानमात्र थप १८ प्रहरीमा कोरोना सङ्क्रमण पुष्टि भएको हो ।
कोरोना पुष्टि भएकामध्ये १०१ जना निको भएर घर फर्किसकेका छन् । उपत्यकामा कोरोना पुष्टि भएका बिरामीलाई उपचारका लागि सशस्त्र प्रहरी बलको बलम्बु अस्पतालमा लगिएको प्रहरी प्रधान कार्यालयले जनाएको छ ।
१८ जना प्रहरीसहित शुक्रबार काठमाडौं उपत्यकाका ३८ जना व्यक्तिमा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ ।स्वास्थ्य मन्त्रालयका प्रवक्ता डाक्टर जागेश्वर गौतमले नियमित प्रेस ब्रिफिङमा गएको २४ घण्टामा उपत्यकामा ३८ जना संक्रमित थपिएको जानकारी दिनसभयो ।
संक्रमितमध्ये काठमाडौंका ३२, ललितपुरका ५ र भक्तपुरका एकजना छन्। उनीहरूको उपत्यकाका विभिन्न प्रयोगशालामा परीक्षण गरिएको थियो । राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालामा गरिएको परीक्षणमा काठमाडौंका ८ जनामा संक्रमण पुष्टि भएको हो । यस्तै पाटन अस्पतालमा गरिएको परीक्षणमा काठमाडौं र ललितपुरका दुई(दुई जना संक्रमित फेला परेका छन्।
पछिल्लो समय उपत्यकामा संक्रमित संख्या बढिरहेको छ । बिहीबारमात्र उपत्यकाका ४५ जनामा संक्रमण पुष्टि भएको थियो ।
प्रतिक्रिया राख्नुहोस्