जन सरोकार

यसरी हराउँदो रहेछ खोप : होटलमा भेटियो २२० मात्रा, स्वास्थ्यकर्मी नियन्त्रणमा

स्वास्थ्य मन्त्रालयको रेकर्डमा तीन लाख खोप गायब छ । यो कुरा सार्वजनिक संचार माध्यममा आएन । तर, खोपराएको पत्तो लागेलगत्तै विभिन्न निजी संस्थामा महंगो शुल्क लिएर खोप लगाउन थालिएको समाचार आयो । स्वास्थ्य मन्त्रालयले त्यस्तो खोप नलगाउन र सरकारले शुल्क तिरेर खोप लगाउने बन्दोबस्त नगरेको सूचनाा जारी गर्यो ।

तर, हराएको खोपको हिसाब अझै मिलेको छैन । स्वास्थ्य मन्त्रालयका विभिन्न निकायका हताकर्ताबीच यो विषयमा आरोप–प्रत्यारोप छ र उनीहरुबीचका असमझदारीकै कारण खोप व्यवस्थापनमा कठिन बनिरहेको छ ।

स्वास्थ्य मन्त्रालय अन्तर्गतका निकायका हाकिमहरुमा खोपको जस कसले लिने भन्ने होडबाजीले खोपको व्यवस्थापन हुन सकेको छैन भने कालोबजारीलाई पनि पनि भैरहेको आशंका शुक्रबार बिर्तामोडको घटनाले उब्जाएको छ ।

विर्तामोडको एउटा होटलमा २२० डोज भेरोसिल खोपसहित स्वास्थ्य शाखा विर्तामोडका फोकल पर्सन ओमबहादुर खड्कालाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

विर्तामोडको टाइमलेस होटलबाट खड्कालाई अपरान्ह ४ बजेतिर खोपसहित नियन्त्रणमा लिइएको थियो । स्थानीयबासीले खोप नियोजितरूपमा होटलमा लुकाउन खोजिएको आरोप लगाएका छन् ।

इलाका प्रहरी कार्यालय विर्तामोडका प्रहरी नायव उपरीक्षक सन्तोष आचार्यले होटलबाट खोपसहित स्वास्थ्य शाखाका फोकल पर्सन खड्कालाई नियन्त्रणमा लिएर केहीबेर इप्रकामा राखिएको र कानून बमोजिम थप कार्वाहीका लागि स्वास्थ्य कार्यालयमा पठाइएको बताउनुभयो ।

विर्तामोड नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत गणेशप्रसाद दाहालले उक्त खोप विर्तामोड नगरपालिकाको आग्रह बमोजिम स्वास्थ्य कार्यालय झापाले पठाएको जिकीर गर्दै होटलमा लुकाइएको आरोप अस्वीकार गर्नुभयो ।

हाल प्रहरी नियन्त्रणमा रहेका स्वास्थ्य शाखा विर्तामोडका फोकल पर्सन खड्काले आफु आइसोलेसनका लागि टाइमलेस होटलमा रहेको बेला जिल्लाबाट पठाइएको खोप होटलमै बुझेको दावी गर्नुभएको छ ।

विर्तामोडको खोप कार्यक्रममा खटिएका केही स्वास्थ्यकर्मी होटल आइसोलेसनमा बस्ने गरेको र सोही क्रममा खोप भेटिएका कारण स्थानीयबासीले खोपमा अनियमितताको आशंका गरेका छन् । तर, स्वास्थ्य कार्यालय झापाले पठाएको खोप नगरपालिका कार्यालय, स्वास्थ्य शाखा, प्रहरी कार्यालयलगायतका निकायमा राखिनुको साटो होटलमा राखिनु गलत भएको विर्तामोड नगरपालिकाले स्वीकार गरेको छ ।

होटलमा खोपसहित नगरका स्वास्थ्य शाखाका फोकल पर्सन भेटिएको घटनापछि विर्तामोडका सामाजिक अभियन्ताले घटनाको निष्पक्ष छानविन र दोषीमाथि कडा कार्वाहीको माग गरेका छन् ।

स्वास्थ्य कार्यालय झापाका फोकल पर्सन जीवन चौलागाईले जिल्लाबाट विर्तामोडमा खोप गएको हो वा होइन भन्ने बारेमा आफु अनभिज्ञ भएको बताउनुभयो । उहाँले घटना बारे सोधखोज भइरहेको जानकारी दिनुभयो ।

प्रतिक्रिया राख्‍नुहोस्

सम्बन्धित खबर

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker go get the website work properly.