विस्तारै उठ्दैछ कोरोनाले थलिएको पोखरा
झण्डै दुई वर्षयता कोरोना कहरका कारण पर्यटकीय नगरी पोखरामा व्यवसाय ठप्प छ । व्यवसाय ठप्प भएसँगै यस क्षेत्रमा सम्बद्ध मजदूर बेरोजगार बनेका छन् । गत वर्ष कोरोनाको पहिलो लहर केही साम्य भएसँगै पोखराका पर्यटन व्यवसायीमा जागेको आशा महामारीको दोस्रो लहरले भत्काइदिएको छ ।
नेपाल पर्यटन बोर्डसँगको सहकार्यमा आन्तरिक पर्यटनलाई चलायमान बनाउने उद्देश्यका साथ पर्यटन सम्बद्ध सङ्घसंस्थाले प्रवद्र्धनात्मक कार्यक्रमका गतिविधि अघि बढाएका थिए । त्यसक्रममा मर्दी हिमाल पदयात्रादेखि धम्पुस पिक आरोहणका साथै प्रदेशका ढोरपाटनदेखि नवलपुरसम्मका विभिन्न स्थानमा प्रवद्र्धनका कार्यक्रम सम्पन्न भएका थिए । कोरोनाको दोस्रो लहर बढेपछि यी सबै क्रियाकलापसमेत पुनः ठप्प बनेको पर्यटन अझै सुनसान छ ।
पर्यटनलाई पुनः चलायमान बनाउन यतिखेर पोखराका पर्यटन व्यवसायी प्रदेश हुँदै सङ्घीय सरकारसँग खोपको सुनिश्चितताको माग गरेका छन् । पोखरा पर्यटन परिषद्को अगुवाइमा पछिल्ला दिनमा प्रदेशका मुख्यमन्त्रीदेखि सम्बद्ध मन्त्रीलाई भेटी पर्यटन क्षेत्रलाई चलायमान बनाउन तत्काल खोपको व्यवस्था गर्न माग गरिएको छ ।
परिषद्का अध्यक्ष गोपीबहादुर भट्टराई आफूहरूलाई पहिलो चरणमा होटल तथा रेष्टुरेन्टसहितका मजदूर एवं व्यवसायीलाई लक्षित गरी कोरोनाविरुद्धको पाँच हजार खोप तत्काल आवश्यक भएको बताउनुहुन्छ । “पोखरामा पर्यटन व्यवसायीका लागि भने २० हजार मात्रा खोप आवश्यक भए पनि तत्कालका लागि पर्यटन बजारमा राम्रो सन्देश दिने गरी पाँच हजार खोप व्यवस्था गर्न माग गरेका छौँ”, उहाँले भन्नुभयो ।
गण्डकी प्रदेश सरकारले अघिल्लो वर्षमा ल्याएको एक अर्बको व्यवसाय जीवन रक्षा कोष अधिकांश साना तथा मझौला व्यवसायीको पहुँचमा नभएको दाबी गर्दै उहाँले बैंक तथा वित्तिय संस्थाबाट लिएको ऋणको किस्ता तथा ब्याज आगामी दुई वर्षसम्म तिर्नसक्ने कुनै सम्भावना नभएकाले कर्जा तालिकालाई पुर्नतालिकीकरण गर्नुपर्ने बताउनुभयो ।
मौद्रिक नीतिमा आगामी आर्थिक वर्ष २०७८/०७९ मा पर्यटन प्राथामिकता प्राप्त क्षेत्रका रुपमा सम्बोधन गरी हरेक बैंकले बढीमा पाँच प्रतिशत ऋण सहुलियत व्याजदरमा पर्यटन उद्योगमा अनिवार्य लगानी गर्ने गरी व्यवस्था मिलाउनुपर्नेमा व्यवसायीको जोड छ ।
विगतमा नियमित मात्र नभई नेपाल भ्रमण वर्ष, गण्डकी प्रदेश भ्रमण वर्ष आदिका नाममा यहाँका पर्यटन व्यवसायीले अधिकतम पर्यटक भित्र्याउने लक्ष्यका साथ ठूलै लगानीमा पूर्वाधार निर्माण गरेका थिए । जनस्तरबाटसमेत ठाउँठाउँमा पर्यटन लक्षित पूर्वाधार विकासलाई निरन्तरता दिइएको छ ।
कोरोनाका कारण देशका अधिकांश आयोजनासँगै विकास निर्माणमा पनि असर परेको अवस्थामा पोखरा महानगरपालिका–२२ स्थित पुम्दीकोटमा जनस्तरबाट विशाल महादेवको मूर्ति निर्माण गरिएको छ । पुम्दीकोटमा यतिखेर ५१ फिट उचाइको महादेवको मूर्ति स्थापना गरिएसँगै सो स्थानमा आन्तरिक पर्यटक पुग्ने क्रमले गति लिन थालेको छ ।
पछिल्ला दिनमा निषेधाज्ञा खुकुलो बन्दै गएपछि आन्तरिक पर्यटकको चाप बढ्न थालेकाले आगामी दिन यो स्थल यस क्षेत्रको महत्वपूर्ण गन्तव्यस्थल बन्ने पोखरा महानगरपालिका–२२ का वडासदस्य मातृका बरालले बताउनुभयो ।
प्रतिक्रिया राख्नुहोस्