मेलम्ची बाढी अपडेट- सत्र घर टहरा बगायो
मेलम्चीको बस्ती सार्नुको विकल्प नभएको गृहमन्त्री बालकृष्ण खाँणलाई जानकारी गराइएको
शनिबार रातिदेखि आएको बाढीले हेलम्बु गाउँपालिका र मेलम्ची नगरपालिकाका १७ घर टहरा बगाएको छ । ती मध्ये नौ पक्की र आठ कच्ची रहेको जिल्ला प्रहरी कार्यालयका प्रहरी उपरीक्षक राजन अधिकारीले जानकारी दिनुभयो ।

उहाँका अनुसार गत असार १ गते आएको भीषण बाढीले लेदो भरिएका घर गएरातिको बाढीले बगाएको हो । ती घरटहरा खाली थिए । बाढीले चनौटेको रातो पुल बगाएको छ ।
स्थानीयवासी हस्त पण्डितले दिनुभएको जानकारी अनुसार वाढीले आज विहान पुल बगाएको हो । मेलम्ची– ७ र ८, पाँचपोखरी– १ र २ र हेलम्बुका धेरै वडा जोड्ने एकमात्र विकल्पका रुपमा यो पुल रहेको थियो । पुल बगाएसँगै अब यो भेगमा सवारीआवतजावत बन्द छ ।
त्यस्तै ग्यालथुममा रहेको झोलुङ्गे पुल पनि वाढीले बगाएको छ । बाढीले धार परिवर्तन गरेर तालामाराङ प्रहरी चौकीको भान्छा पनि बगाएको छ । मेलम्ची बजारदेखिमाथि पुल बाँकी नरहेको हेलम्बु गाउँपालिकाका अध्यक्ष निमा ग्यालजेन शेर्पाले जानकारी दिनुभयो ।
खोलामा लेदोसहितको बाढी आएको र बाढी घट्ने, बढ्ने भइरहेको उहाँले बताउनुभयो । हेलम्बु राजमार्गका विभिन्न स्थानमा पहिरो जाँदा मेलम्चीबाट हेलम्बु सवारीसाधन जान नसकेको मेलम्ची नगर प्रमुख डम्बर अर्यालले जानकारी दिनुभयो ।
यसबीच हेलम्बु गाउँपालिकाका अध्यक्ष निमा ग्याल्जेन शेर्पाले गृहमन्त्री बालकृष्ण खाँणलाई मेलम्ची खोला वरपरका बस्ती सार्नुको विकल्प नभएको जानकारी गराउनुभएको छ । मेलम्चीमा दोस्रोपटक बाढीले क्षति गरेपछि हेलिकप्टरबाट अनुगमन गरेपछि अध्यक्ष शेर्पालगायतले गृहमन्त्री खाँणलाई उक्त अवस्थाको जानकारी गराउनुभएको हो ।
अध्यक्ष शेर्पाले भन्नुभयो, “मेलम्चीको मुहानभन्दा तल चौरमा माथिबाट बगेर आएको ढुंगा, माटो र बालुवा थुप्रिएको छ । सानो पानी पर्दा त्यो कटान भएर बगिरहेको हो । हामीसँग मेलम्चीको वरिपरीको बस्तीलाई सार्नुभन्दा अर्को विकल्प छैन ।”
मेलम्चीको पानीले उक्त चौरमा करिब २ सय मिटर उचाइका ढिस्का तयार पारेको र ती पनि बग्ने क्रममा रहेका बताउँदै अध्यक्ष शेर्पाले पानीमा लेदो बग्दै आइरहेको र अझै रोकिने अवस्था छैन । पानी परेमा झन् खतरा रहेको जानकारी गराउनुभयो ।
प्रतिक्रिया राख्नुहोस्