जन सरोकार

कोभिडका बिरामीले भरिन थाल्यो चितवनका अस्पताल

बेड खाली छ कि भनेर भौतारिएकाको आवाज फेरि बढ्यो- ज्वरो र खोकीले परिवार नै सोत्तर

कोभिड– १९ का सङ्क्रमित बढेसँगै चितवनका अस्पतालमा बिरामीको चाप बढ्न थालेको छ । निषेधाज्ञासँगै न्यून हुँदै आएको दोस्रो लहरको सङ्क्रमण निषेधाज्ञा खुकुलो भएसँगै बढेको हो ।

यहाँको भरतपुर अस्पताल, बिपी कोइराला मेमोरियल क्यान्सर अस्पताल, चितवन मेडिकल कलेज र कलेज अफ मेडिकल साइन्सेजमा कोभिडका बिरामीको उपचार हुँदै आएको छ । निजी क्षेत्रको पुष्पाञ्जलि अस्पतालमा पनि कोभिडका बिरामीको उपचार भइरहेको छ ।

भरतपुर अस्पतालमा कोभिडका लागि छुट्याइएको श्यया भरिएका छन् । अस्पतालका सूचना अधिकारी लीलाधर पौडेलका अनुसार कोभिडका लागि छुट्याइएका ११० श्ययामा आज दिउँसोसम्म १०६ बिरामी पुगेका छन् । आज मात्रै नयाँ १३ बिरामी थपिएका र १२ जना निको भएर घर गएका छन् ।

अस्पतालको सघन उपचार कक्ष र दुई भेन्टिलेटरमा २२ बिरामी छन् भने एचडियुमा २३ र अन्यमा ६१ जना छन्। सरकारी अस्पताल भएकाले यहाँ बाँकी रहेका चार श्यया कुनै पनि बेला भरिनसक्ने हुँदा श्यया थप गर्न छलफल भइरहेको पौडेलको भनाइ थियो । सरकारले सरकारी अस्पतालमा उपचार निःशुल्क गर्दै आएकोे छ ।

चितवन मेडिकल कलेजमा कोभिडका बिरामी ७१ पुगेका छन् । त्यहाँको सघन उपचार कक्षमा ३४, भेन्टिलेटरमा १७ र एचडियुमा ३७ बिरामी छन् । अस्पतालका व्यवस्थापक पारस अधिकारीले क्रमशः बिरामी बढ्दै गएको बताउनुभयो । अस्पतालले कोभिड बिरामीका लागि २४२ श्यया छुट्याएको थियो तर सङ्क्रमित बढ्दै गएपछि अन्य बिरामीलाई श्यया छुट्याइएकामा पुनः कोभिडका बिरामी राख्न थालिएको हो ।

उण्डाइस बिरामी रहेकामा चार जनालाई भेन्टिलेटरमा राखेर उपचार गरिरहेको कलेज अफ मेडिकल साइन्सेजले पनि दुईसय श्यया कोभिडका लागि छुट्याइएको जनाएको छ ।

बिपी कोइराला मेमोरियल क्यान्सर अस्पतालमा पाँच र अन्य अस्पतालमा ११ बिरामी उपचाररत छन् भने भरतपुर महानगरपालिकाको आइसोलेशनमा सात र कालिका नगरपालिकाको आइसोलेशनमा छ जना छन् ।

स्वास्थ्य कार्यालयका जनस्वास्थ्य अधिकृत गीताञ्जलि ढकालका अनुसार जिल्लामा सक्रिय सङ्क्रमितको सङ्ख्या घटेर एक हजार १४ मा झरेकामा आजसम्म आइपुग्दा बढेर दुई हजार १९२ पुगेको छ ।

भरतपुर अस्पताल विकास समितिका अध्यक्ष डा भोराज अधिकारीले सरकारी अस्पताल बिरामीले भरिएकाले जिल्लामा कोरोनाको खतरा बढ्न थालेको बताउनुभयो । कोभिड– १९ का लक्षणसहितका समस्या र सहयोगका लागि आग्रह गर्दै ठूलो सङ्ख्यामा फोन र एसएमएस आउन थालेको उहाँले जानकारी दिनुभयो ।

“बेड खाली छ कि भनेर भौतारिएकाको आवाज फेरि बढ्यो । ज्वरो र खोकीले परिवार नै सोत्तर छ, परीक्षण कसरी गर्ने ?’ भन्ने प्रश्न बढी देखिएको छ”, अध्यक्ष अधिकारीले भन्नुभयो “लक्षणसहित स्वाब परीक्षण गराउनेको भीड एक्कासि बढेको छ ।” निषेधाज्ञा शुरु हुँदा कोरोना आएजस्तो गरी केही सावधानी अपनाउने र निषेधाज्ञा खुकुलो हुँदै जाँदा कोरोना भागे जस्तो गरी काम सक्न हतारिएजस्तो गरी भीड बढ्ने गरेको छ । “भ्याक्सिन लगाएको छु भन्दैमा कोरोना विरुद्धको स्वास्थ्य मापदण्ड पालना नगर्ने बढेका छन् ।”

स्वास्थ्य कार्यालयका प्रमुख दीपक तिवारीले बिरामीको चाप बढ्दै गएकाले भरतपुर अस्पताल र क्यान्सर अस्पतालमा श्यया थप्नका लागि छलफल अघि बढाइएको र अक्सिजन अभाव हुन नदिन उत्पादक कम्पनी र सप्लायर्सका प्रतिनिधिसँग पनि छलफल गरिएको जानकारी दिनुभयो ।

अहिले अक्सिजन अभाव नभए पनि भदौको पहिलो सातासम्ममा अक्सिजनको अभाव हुनसक्ने भएकाले पूर्वतयारी थालिएको हो । प्रमुख जिल्ला अधिकारी प्रेमलाल लामिछानेले अस्पताल र अक्सिजन सप्लायर्ससँग छलफलपछि आज नगर प्रमुखसहित सरोकारवालासँग छलफल गर्न लागिएको बताउनुभयो ।

जिल्लामा हालसम्म २० हजार ७६९ सङ्क्रमित भएकामा १८ हजार २४२ जना निको भएका छन् । सङ्क्रमणबाट हालसम्म ३३५ जनाको मृत्यु भएको छ । जिल्लामा दोस्रो लहर उच्च हुँदा सक्रिय सङ्क्रमित चार हजार ७०० नाघेको थियो । त्यतिबेला अस्पतालका श्यया नभरिए पनि सघन उपचार कक्ष र अक्सिजनको अभाव भने भएको थियो ।

प्रतिक्रिया राख्नुहोस्

सम्बन्धित खबर

Back to top button