एक प्रदेशमा एक लाखको पिसिआर परीक्षण गर्न देउवाको सुझाव
पूर्व प्रधानमन्त्री तथा प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले कोरोना संक्रमितको पहिचान गर्न प्रत्येक प्रदेशमा एक लाख नयाँ परीक्षण तत्काल सुरु गर्न र आवश्यक औषधि आयात गर्न सरकारलाई आग्रह गर्नुभएको छ ।
मंगलबार प्रधानमन्त्री निवास बालुवाटारमा भएको जनस्वास्थ्य क्षेत्रका विज्ञहरूको छलफलमा देउवाले सरकारलाई ७ बुँदे सुझाव दिँदै एक प्रदेशमा एक लाख नयाँ परीक्षण तत्काल सुरु गर्ने बन्दोबस्त मिलाउन भन्नुभएको हो ।
सभापति देउवाले कोरोना संक्रमितको उपचारमा सहयोग गर्ने रेमडिसिभर औषधिको आयातमा तदारुकता देखाउन, आइसोलेसन वार्ड विस्तार र भेन्टिलेटरको अत्यावश्यक प्रबन्ध गर्न पनि सरकारलाई सुझाव नुभएको छ ।
देउवाले कोरोना रोकथाम तथा नियन्त्रणमा सरकारले गरेका हालसम्मका कमजोरी र प्रगतिको गहिरो समीक्षा गर्न र स्वास्थ्य सामग्री खरिदमा भएको अनियमितता र भ्रष्टाचार ढाकछोप नगरी छानबिन गर्न पनि सुझाव दिएका कांग्रेस पार्टी कार्यालयका मुख्यसचिव कृष्णप्रसाद पौडेलले जानकारी दिए ।
विदेशमा अप्ठ्यारोमा परेका नेपालीको निःशुल्क उद्वार गरी क्वारेन्टाइन र परीक्षण पश्चात् घर पठाउन, नेपालीको उद्दार गर्नुपर्ने स्थितिमा बाहेक सिमानाको आवागमनमा सम्पूर्ण कडाइ र नाका सिल गर्न पनि देउवाको सुझाव छ ।
देउवाले कोरोना संक्रमितको संख्याको आधारमा देशका उच्च जोखिम, मध्यम जोखिम र न्यून जोखिमको क्षेत्र पहिचान गरेर भिन्न क्षेत्र भिन्न रणनीति निर्माण गरी कार्यान्वयन गर्न पनि सरकारलाई सुझाव दिनुभएको छ । भने कोरोना महामारीबाट सुरक्षाका लागि मास्क लगाउन चेतनामूलक कार्यक्रम गर्न पनि देउवाको सुझाव छ ।
प्रतिक्रिया राख्नुहोस्