एभरेष्ट इन्टरनेशनल स्कुल जापानले विश्वब्यापीरुपमा अनलाइन कक्षा सुरु गर्ने
अगस्टदेखि डिसेम्बरसम्म मासिक शुल्कमा २ हजार येन छूट
नेपाल सरकारद्वारा मान्यताप्राप्त विदेशमा रहेको एक मात्र नेपाली शिक्षण संस्था एभरेष्ट इन्टरनेशनल स्कुल जापानले निकट भविष्यमै डिजिटल प्रविधिबाट संसारभर छरिएका नेपालीहरुले पढ्न मिल्ने अनलाइन पाठ्यक्रम अनुसारको पढाई सुरु गर्ने भएको छ । विद्यालय शिक्षालाई कक्षा कोठामा मात्र सीमित नगरी डिजिटल प्रविधिमार्फत विश्वब्यापीरुपमा बिस्तार गर्दै लैजाने योजना अनुरुप दुरशिक्षा प्रणाली अनुसारको अनलाइन पाठ्यक्रम तयार गरी निकट भविष्यमै एभरेष्ट स्कुलले पढाई सञ्चालन गर्ने भएको हो ।
जसअनुसार विश्वका जुनसुकै भूगोलमा उपलब्ध हुन सक्ने दक्ष शिक्षक शिक्षिकाबाट संसारभरबाट इच्छुक नेपालीहरुले स्तरिय शिक्षा हासिल गर्नसक्ने ब्यवस्था मिलाउन आवश्यक गृहकार्यमा जुटिसकेको एभरेष्ट इन्टरनेशनल स्कुलले जनाएको छ ।
एभरेष्ट इन्टरनेशनल स्कुल सञ्चालक समितिका अध्यक्ष भट्टको अध्यक्षतामा हालै बसेको विद्यालय बैठकले गरेको निर्णयअनुसार कोभिड १९ का कारण अभिभावक वर्गमा पर्न गएको आर्थिक भारलाई सांकेतिक राहतस्वरुप यहि अगस्ट महिनादेखि लागू हुने गरी आगामी डिसेम्बर महिनासम्मका लागि विद्यार्थीहरुको मासिक शुल्कमा २ हजार येन छूट दिइने भएको छ ।
एभरेष्ट इन्टरनेशनल स्कुल जापानका तर्फबाट सञ्चालक समितिका अध्यक्ष भवन भट्टले एक विज्ञप्ति जारी गर्दै उक्त जानकारी गराउनुभएको हो । विज्ञप्तिमा, विद्यालयको शैक्षिक गुणस्तरलाई यथोचित अभिबृद्धि गर्दै पठनपाठन तथा प्रशासनिक कार्यसम्पादनलाई थप चुस्त दुरुस्त पारी परिणाममुखी बनाइने प्रतिबद्धता ब्यक्त गरिएको छ ।
विद्यार्थीहरुलाई पठनपाठनका साथै उनीहरुको रुचीअनुसार अतिरिक्त क्रियाकलापमा समेत नियमित सरिक गराई शारीरिक तथा मानसिकरुपमा स्फुर्त बनाउन र आधारभुत बाह्य ज्ञान दिलाउन प्रमोटर, अभिभावकका साथै समाजका विविध क्षेत्रका लब्ध प्रतिष्ठित ब्यक्तित्वहरुलाई ’गेष्ट स्पिकर’ का रुपमा नियमित आमन्त्रण गरी अनुभव आदान-प्रदान गर्न लगाइने विज्ञप्तिमा उल्लेख छ ।
यसैगरी कोभिड १९ को बिश्वब्यापी महामारी र यसले सबै क्षेत्रमा पारेको नकरात्मक असरसंगै पछिल्लो समयमा कोरोना संक्रमितहरुको संख्या पुनः दिनानुदिन बढ्दो क्रममा रहेकाले परिस्थिति थप जटिलतातर्फ उन्मुख देखिएको भन्दै गत जुन २७ देखि सुचारु प्रथम त्रैमासिक परीक्षा अर्को सूचना नभएसम्मका लागि स्थगित गरिएको छ ।
जसअनुसार पूर्व निर्धारित सूचनाअनुसार आगामी हप्तादेखि दुईहप्ताका लागि हुने भनिएको गृष्मकालिन बिदा एकहप्ता अगावै मिति ३ अगष्टबाट लागू हुने गरी बिदा गरिएको जनाइएको छ, र स्थगित परीक्षाको बाँकी विषयहरुको परीक्षा गृष्मकालिन बिदापछि हुने बताइएको छ ।
एभरेष्ट स्कुलमा हाल २ सय ६३ जना विद्यार्थीहरु अध्ययनरत छन् । अंग्रेजी माध्यममा पढाई हुने सो स्कुलमा हाल १० कक्षासम्म पढाई भैरहेको छ भने १२ कक्षासम्मको लक्ष रहेको छ । अंग्रेजी, नेपाली र जापानी गरी तीनवटै भाषा संगसंगै सिक्न सकिने एभरेष्ट स्कुलको बिशेषता मानिन्छ ।
प्रतिक्रिया राख्नुहोस्