संक्रमणदर २६ प्रतिशत, तेस्रो लहरको सुरुवातको संकेत
कोभिडको तेस्रो लहर भन्न मिल्ने, लकडाउन मात्रै उपाय हैन, नियम पालनामा कडाई आवश्यक
मुलुकको आम जनजीवन सामान्य बन्दै गर्दा कोरोना संक्रमण भने असामान्य बन्दै गएको । एक सातायता तीन हजारबाट तल नझरेको संक्रमित संख्या हिजो बुधबार आइपुग्दा चार हजार नाघेको छ ।

यो निकट भविष्यमै संक्रमणको अर्को लहर सुरु हुने संकेत मानिएको छ । विज्ञहरुले आवश्यक प्रभावकारी उपाय तत्काल अवलम्बन गर्न सुझाव दिइरहेका बेला सरकारले खासै चासो नदिएपछि आम जनजीजनमा थप त्रास उतपन्न भएको छ ।
बुधबार पछिल्लो २४ घण्टामा चार हजार १०७ जनामा देखियो । १६ हजार २९८ को परीक्षण गर्दा चार हजार १०७ जनामा सङ्क्रमण भएको पुष्टि भएको हो । परीक्षण गरिएकामध्ये २६.२ प्रतिशतमा सङ्क्रमण पुष्टि भएको छ ।
पिसिआर परीक्षणमा दुई हजार ९७५ जना र एन्टिजेन परीक्षण गर्दा चार हजार १०७ जनामा सङ्क्रमण देखिएको छ । यस्तै एक हजार ५३५ सङ्क्रमणमुक्त भएका छन् । यस्तै विगत २४ घण्टामा ३५ जनाको निधन भएको छ ।
काठमाडौं उपत्यकामा संक्रमण उच्च छ । बुधबारकै तथ्यांकमा उपत्यकामा एक हजार २७९ सङ्क्रमण देखिएको छ । काठमाडौँमा ९०८ जना, भक्तपुरमा २०६ जना र ललितपुरमा १६५ जना सङ्क्रमित भएका छन् ।
हाल सहर बजारमा कोभिडलाई बेवास्ता गर्दै नागरिक निर्धक्क हिँड्न थालेका छन् । सार्वजनिक सवारीसाधनमा हिँड्दा मास्क नलगाउने तथा ठेलमठेल गरेर आउन जाने गरेका छन् । यसले झन् समस्या पार्दैछ । अर्कोतिर खोप लगाउने स्थानमा समेत सामाजिक दूरी कायम नहुँदा अरु जोखिम बढेको छ ।
तेस्रो लहरको सुरुवात
जसरी संक्रमण दर बढिरहेको छ यसलाई तेस्रो लहरको सुरुवात भन्न मिल्ने विज्ञहरुले बताइरहेका छन् । वरिष्ठ भाइरोलोजिष्ट डा. वासुुदेव पाण्डेले नेपालमा कोभिड–१९ को तेस्रो लहर सुरु भएको भन्न मिल्ने बताउनुभयो । सरकार र नागरिकको लापरबाहीका कारण कोभिड बढेको भन्दै उहाँले नियन्त्रणका लागि आ–आफ्नो क्षेत्रमा सतर्क हुनुपर्ने र उचित पहल गर्नुपर्ने बताउनुभयो ।
कोभिड बढ्नुको प्रमुख कारणबारे डा. पाण्डेले भन्नुभयो, सरकारी क्षेत्रबाट विभिन्न कार्यक्रम सञ्चालन हुनु, राजनीतिक दलका व्यक्तिहरूले नाराजुलुस र विभिन्न सभा सम्मेलन गर्नु, नागरिकले जनस्वास्थ्य मापदण्ड कार्यान्वयन नगर्नु नै प्रमुख कारण हुन् ।
त्यसो त यसबाट बच्न र बचाउन लकडाउन मात्र उपाय नभएको डा. पाण्डे बताउनुहुन्छ । देशको आर्थिक अवस्था चलायमान गर्न पनि लकडाउन गर्न नहुने भन्दै उहाँले सवारीसाधनमा जोरबिजोर गर्ने, गाडीमा धेरै मानिस नचढ्ने, कार्यालयमा फरक फरक समय काम गर्ने गरी लकडाउनमा जान सकिने सुझाव उहाँको छ ।
जनस्वास्थ्यका मापदण्ड प्रभावकारी ढङ्गले पालना गर्ने हो भने सङ्क्रमण दरलाई घटाउन सकिने बताउँदै डा. पाण्डेले लकडाउनमा जाँदा रोजगारी गुमेका व्यक्तिहरूको जिम्मा राज्यले लिनुपर्ने बताउँदै जापान, अस्ट्रेलियालगायतका विकसित देशमा यदि लकडाउन भएको अवस्थामा रोजगारी गुमेकाहरूलाई राज्यले सात सय डलरसम्म दिने गरेको बताउनुभयो ।
यस्तै वरिष्ठ सरुवा रोग विशेषज्ञ डा. शेरबहादुर पुनले तेस्रो लहरको स्थिति देखा परेको भन्दै त्यसलाई सामना गर्न तयारी अवस्थामा रहनुपर्ने बताउनुभयो । तेस्रो लहर आइसकेको भन्न नमिल्ने भन्दै उहाँले सरकारले कोभिड नियन्त्रणमा प्रभावकारी काम गर्नुपर्नेमा जोड दिनुभयो ।
पछिल्लो समय कोभिडप्रति हेल्चक्र्याइँ गर्न थालिएको धारणा राख्दै उहाँले खोप केन्द्रबाटै कोभिडको सङ्क्रमण बढ्ने जोखिम रहेको बताउनुभयो ।
प्रतिक्रिया राख्नुहोस्