नेपालका लागि जापान सरकारले अनुदानमा दिने खोप शनिबार र आइतबार गरी दुई खेपमा नेपाल आउने भएको छ । जापान सरकारले नेपाललाई कोभिसिल्डको विकल्प मानिएको अस्ट्राजेनिकाको १६ लाख मात्रा खोप उपलब्ध गराउनेछ ।

यी खोपमध्येको पहिलो खेप आगामी शनिबार र दोस्रो खेप आइतबार राजधानी ल्याइने काठमाडौंस्थित जापानी राजदूतावासले एक विज्ञप्ति जारी गरी जनाएको छ ।
दूताबासका अनुसार आज बिहीबार र भोलि शुक्रबार जापानबाट हवाइ मार्गबाट ती खोप ढुवानी सुरू हुने छ । त्यसै गरी जापानले बाँकी खोप सम्बद्ध निकायहरूसँगको समन्वयमा यथाशक्य चाँडो नेपाल ल्याइने पनि बताइएको छ ।
विज्ञप्तिमार्फत राजदूत किकुटाले स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयसँगको सहकार्य र समन्वयमा नेपाल सरकारले थालेको कोभिड–१९ खोप अभियानमा जापान निर्मित अस्ट्रा जेनिका खोप उपयोग हुने विश्वास व्यक्त गर्नुभएको छ ।
उहाँले महामारीको वर्तमान कठिन परिस्थितिमा नेपाल सरकारसँग हातेमालो गर्दै धेरैभन्दा धेरै नेपालीको जीवनरक्षा तथा महामारीपछिको सामाजिक एवं आर्थिक पुनरुत्थानमा सहकार्य गर्न जापान तयार रहेको उल्लेख गर्नुभएको छ ।
अस्ट्रा जेनिका र कोभिसिल्ड एउटै फर्मुलाबाट बनेकाले कोभिसिल्डको पहिलो मात्राा लगाएर दोस्रो मात्राको प्रतिक्षा गरेका ज्येष्ठ नागरिकसहित झण्डै १३ लाखलाई यो खोप वितरण गरिने बताइएको छ । त्यस्तै सरकारले यही खोप खरीदका लागि पनि पहल गरिरहेको बताएको छ ।
प्रतिक्रिया राख्नुहोस्