पाँच महिनाको अवधिमा एकलाख ९३ हजार संक्रमित थपिने
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले यही साउनदेखि मंसिरसम्मको पाँच महिनाको अवधिमा १ लाख ९३ हजार ८ सय ५६ जना नयाँ संक्रमित थपिने सम्भावना रहेको बताएको छ । त्यस्तै साउन महिना पछाडि कोरोना संक्रमितको संख्या क्रमशः घट्दै जाने प्रक्षेपण गरेको छ ।

बिहिबार स्वास्थ्य मन्त्रालयको नीति योजना तथा अनुगमन महाशाखा प्रमुख डा. गुणराज लोहनीले संसदको शिक्षा स्वास्थ समितिमा पेश गरेको विवरणमा सो तथ्य उल्लेख गरिएको हो ।
विवरणमा साउन महिनामा मात्रै ५३ हजार ३०७, भदौमा ४५ हजार ७२६, असोज महिनामा ३८ हजार ५ सय ९७ र भदौ महिनामा ३१ हजार ४४ जना नयाँ संक्रमित थपिने उल्लेख छ ।
त्यस्तै पाँच महिनाको अवधिमा थपिएका नयाँ संक्रमितहरुमध्ये ३८ हजार ७ सय ७१ जनालाई उपचार सेवा आवश्यक पर्ने छ । तीमध्ये ९ हजार ६ सय ९३ जनालाई सघन उपचारको आवश्यकता पर्न सक्ने उल्लेख गरिएको ।
मन्त्रालयका अनुसार साउन २० गतेसम्म होम आइसोलेसनमा ३० हजार २७० जना, संस्थागत आइसोलेसनमा ३ हजार १९४ जना, आइसियूमा ७१४ जना र भेन्टिलेटरमा १५६ जना उपचाररत छन् ।
यस्तै पहिलो मात्रा खोप प्राप्त गर्नेहरुको संख्या ४२ लाख ९७ हजार ६१२ र पूर्ण खोप प्राप्त गर्नेहरुको संख्या २० लाख ७४ हजार रहेको उल्लेख छ ।
प्रतिक्रिया राख्नुहोस्