विद्यालयहरुको बदमासीका कारण साउन २५ भित्र एसइईको नतिजा नआउने
राष्ट्रिय परीक्षा बोर्डले यस वर्षको एसइई परीक्षाको नतिजा साउन २५ भित्र सार्वजनिक गर्ने तयारी गरे पनि केही विद्यालयहरुको बदमासीका कारण नतिजा सार्वजनिकमा ढिलाई हुने भएको छ ।

समाचार अनुसार कतिपय विद्यालयले आफ्ना विद्यार्थीलाई ‘ए’ र ‘ए प्लस’ नम्बर दिएको तथ्य फेला परेपछि एसईईको नतिजा आउन ढिलाइ हुने भएको हो ।
बोर्डका एक अधिकारीका अनुसार यो सातामै परीक्षाफल प्रकाशित गर्ने तयारी गरेको थियो । तर, अधिकांश विद्यार्थीको अस्वाभाविक नम्बर आएपछि परीक्षाफल प्रकाशित गर्न ढिलाइ हुने भएको छ ।
प्रयोगात्मक विषय समावेश नगरीकनै पनि अधिकांश विद्यार्थीले ‘ए’ र ‘ए प्लस’ ल्याएपछि बोर्डको बिहीबार बसेको बैठकमा गम्भीर छलफल भएको थियो ।
विशेष गरी उपत्यकाका तीनै जिल्लाका विद्यालयले आफ्ना अधिकांश विद्यार्थीलाई ‘ए’ र ‘ए प्लस’ नम्बर दिएको भेटिएको थियो भने तराईका ८ जिल्लाका विद्यालयले पनि आफ्ना विद्यार्थीलाई मनोमानी अंक दिएको भेटिएको थियो ।
केही दिनभित्रै परीक्षाफल प्रकाशित गर्ने तालिकासहित बसेको राष्ट्रिय परीक्षा बोर्डको बैठकले २४ विद्यालयको यस्तो अवस्था देखेपछि तत्काल छानबिन गर्ने निर्णय गरेको छ ।
बोर्डको भर्चुअल बैठकमा अधिकारीले यस्तो अप्रत्याशित र अस्वाभाविक नम्बर दिएपछि कसरी परीक्षाफल प्रकाशित गर्न सकिन्छ भन्दै यस विषयमा तत्काल जिल्ला शिक्षा समन्वय इकाइमार्फत विद्यालयको बारेमा छानबिन गर्नुपर्ने माग गरेका थिए ।
प्रतिक्रिया राख्नुहोस्