पाटन अस्पतालमा दुई संक्रमितको मृत्यु, उपत्यकाका संक्रमण देखिएका स्थानमा सिल हुने

काठमाडौं उपत्यकामा शुक्रबार दुईजना कोरोना संक्रमितको मृत्यु भएको छ । समाचार अनुसार पाटन अस्पतालको आईसीयूमा उपचाररत ४५ वर्षीय पुरुष र ४१ वर्षीय महिलाको मृत्यु भएको हो ।
सर्लाहीका ४५ वर्षीय पुरुषलाई कुकुरले टोकेपछि १९ गते पाटन अस्पतालको आईसीयूमा भर्ना भएका उनको इन्सेफ्लाटिसको समेत उपचार भइरहेको थियो । उनको शुक्रबार विहान ८ बजेर ४० मिनेटमा मृत्यु भएको हो ।
यस्तै रुपन्देही, सुनौलीकी पाठेघरको क्यान्सर र निमोनियाको विरामी ४१ वर्षीया महिलाको उपचारका क्रममा ११ बजेतिर मृत्यु भएको स्वास्थ्य कार्यालय, ललितपुरका प्रमुख डा. खगेश्वर गेलालले जानकारी दिनुभयो ।
यसबीच काठमाडौं उपत्यकामा मानवीय गतिविधि र आवतजावतमा थप कडाइ गरिने तर तत्काल लकडाउन भने नहुने तीनवटै जिल्लाका प्रमुख जिल्ला अधिकारीहरुले बताएका छन् ।
उपत्यकामा कोरोना संक्रमण बढेसँगै आगामी दिनको रणनीति तय गर्न काठमाडौं, भक्तपुर र ललितपुरका प्रमुख जिल्ला अधिकारीहरुको बैठकले जहाँजहाँ संक्रमण बढी देखिएको छ, त्यो क्षेत्रलाई सिल गर्ने निर्णय भएको हो ।
जिल्ला प्रशासन कार्यालयहरुले पनि अत्यावश्यक बाहेकका सेवा रोक्ने पनि सहमति भएको छ । सपिङ मल, व्यापारिक प्रतिष्ठानहरुमा स्वास्थ्य सुरक्षाको मापदण्ड पालना भएको वा नभएको चेकजाँच गर्ने र पालना नगरी सञ्चालन भएकालाई बन्द गर्ने सहमति पनि तीन जिल्लाका प्रमुख जिल्ला अधिकारीहरुले गरेका छन् ।
त्यसै गरी उपत्यकाका तीन वटै जिल्लामा रहेका क्वारेन्टिनस्थलहरुलाई आइसोलेसन सेन्टर बनाउने प्रस्ताव गृहमन्त्रालयमार्फत कोभिड–१९ संकट व्यवस्थापन सेन्टर (सीसीएमसी)मा पठाउने निर्णय पनि उपत्यकाका प्रजिअहरुले सहमति गरेका छन् ।
प्रतिक्रिया राख्नुहोस्