जन सरोकार

अन्तिम समयमा आएर रोकियो कक्षा १२ को परीक्षा

साउन ३१ गतेदखि सुरक्षा मापदण्ड पालना गरी भौतिक उपस्थितिमै संचालन गर्ने तयारी गरिएको कक्षा १२ को परीक्षा अन्तिम समयमा आएर स्थगित भएको छ ।

कोरोना संक्रमितको संख्या बढ्दै गएका कारण परीक्षा सञ्चालन गर्न कठिनाइ उत्पन्न भएकोले स्थगित गरेको बताइएको छ । बिहिबार मात्रै स्वास्थ्य मन्त्रालयले सबै खालको परीक्षा स्थगित गर्न सिफारिश गरेको थियो ।

राष्ट्रिय परीक्षा बोर्डको शनिबार बसेको बोर्डको बैठकले आगामी साउन ३१ गतेदेखि भदौ ९ गतेसम्म हुन लागेको कक्षा १२ को परीक्षा स्थगित गरेको शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयका सचिव रामप्रसाद थपलियाले जानकारी दिनुभयो ।

थपलियाका अनुसार अहिलेलाई परीक्षा स्थगित गरेको र बाँकी परीक्षा हुन पन्ध्र दिन अघि सूचना जारी गरेर जानकारी दिने निर्णय भएको छ ।

विद्यार्थी संगठन र अभिभावकहरुले सबै परीक्षार्थी र परीक्षामा संलग्न सबैलाई कोभिड विरुद्धको खोपको व्यवस्थापन गर्न, व्यवस्थापन गर्न नसक्ने भए स्थगित गर्न माग गर्दै आएका थिए ।

केही दिनअघि स्वाथ्य राज्यमन्त्री उमेश श्रेष्ठले कोरोना संक्रमण बढ्दै गए भौतिक रुपमा परीक्षा नगरी आन्तरिक मूल्याङकनबाट गर्न गर्न सकिने बताएका थिए । तर राष्ट्रिय परीक्षा बोर्डले परीक्षाको तयारी अन्तिम चरणमा पुगेको र परीक्षा हुने बताउँदै आएको थियो ।

बोर्डले भौतिक दुरी कायम गरी एउटा कक्षामा २५ जना मात्रै विद्यार्थी राख्ने गरी तयारी थालेको थियो । साथै परीक्षा केन्द्रमा स्वाथ्य परीक्षण गर्ने, परीक्षा अगावै अनिवार्य रुपमा पीसीआर परीक्षण गर्ने, केन्द्रमा हेल्थडेक्स राख्ने लगायत तयारी गर्न सबै केन्द्रलाई निर्देशन दिएको थियो ।

परीक्षा बोर्डले यो पटक १०० पूर्णांककै परीक्षा गराउने तयारी गरेको थियो । बोर्डले गतवर्ष परीक्षा समय र अंक भार घटाएर परीक्षा लिएको थियो । बोर्डले ४० प्रतिशत मूल्यांकनका लागि मात्रै परीक्षा लिएको थियो ।

बाँकी ४० प्रतिशत मूल्यांकन कक्षा ११ को नतिजाका आधारमा र २० प्रतिशत आन्तरिक मूल्यांकनको आधारमा परीक्षा भएको थियो । कक्षा १२ मा तीन लाख ७२ हजार तीन सय ४८ परीक्षार्थीका लागि बोर्डले चार हजार तीन सय १० परीक्षा केन्द्र तोकिसकेको थियो ।

प्रतिक्रिया राख्‍नुहोस्

सम्बन्धित खबर

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker go get the website work properly.