विश्व समाचार

केरला विमानस्थलमा विमान दुई टुक्रा हुने गरी दुर्घटना हुनुको कारण यस्तो रहेछ

शुक्रबार राति दक्षिण भारतको केरला राज्यको एउटा विमानस्थलमा एअर इन्डिया एक्सप्रेसको यात्रुवाहक विमान दुई टुक्रा भएर दुर्घटनामा पर्दा अहिलेसम्म कम्तीमा १८ जनाको मृत्यु भएको छ ।

दुबईबाट भारतीय नागरिकहरूलाई लिएर आएको उक्त विमान क्यालिटकमा शुक्रवार साँझ अवतरणका क्रममा दुर्घटनाग्रस्त हुँदा दुई टुक्रा भएको हो । विमानमा चालक दलका छ सदस्य र १८४ यात्रु सवार बोइङ ७३७ विमान धावनमार्गमा चिप्लिएपछि दुर्घटना भएको उड्डयन अधिकारीहरूले बताएका छन् ।

भारतीय समाचारसंस्था पीटीआईका शनिवार बिहान एक घाइतेको मृत्यु भएपछि मृतकको सङ्ख्या १८ पुगेको हो । स्थानीय अधिकारीहरूका अनुसार सबै मृतकको सनाखत भइसकेको छ ।

दुर्घटना हुँदा विमानस्थल भएको क्षेत्रमा वर्षा भइरहेको थियो । वर्षाका कारण विमान चालकहरूले अवतरण गर्ने पहिलो प्रयास स्थगित गरेका थिए । दोस्रो पटक अवतरण गर्ने प्रयास गर्दा स्थानीय समयानुसार साँझ १९ः४० मा दुर्घटना भएको थियो । दुर्घटनापछि दुई टुक्रा भए पनि विमानमा आगो लागेको थिएन ।

भारतका नागरिक उड्डयनमन्त्री हरदीप सिंह पुरीले एउटा ट्वीट गर्दै उक्त विमान ठूलो वर्षाको अवस्थामा धावनमार्गमा ठोक्किएको, त्यसपछि ३५ फिट भिरालो ठाउँमा गुडेको र दुई टुक्रा भएको उल्लेख गरेका छन् ।

उनले उक्त दुर्घटनाबारे भारतको विमान दुर्घटनासम्बन्धी अनुसन्धान गर्ने निकाय एएआईबीले जाँचबुझ गर्ने बताए । कोरोनाभाइरस महामारी फैलिएपछि यूएईमा अलपत्र परेका भारतीय नागरिकहरू उक्त विमान चढेर स्वदेश फर्किँदै थिए ।

एक वरिष्ठ प्रहरी अधिकारीले दर्जनौँ मानिस घाइते भएको र तीमध्ये १५ जना गम्भीर रहेको बताए । एअर इन्डिया एक्सप्रेसले ज्यान गुमाउनेमध्ये दुई जना आफ्ना विमानचालक भएको पुष्टि गरेको छ ।

भारतको राष्ट्रिय विपद्सम्बन्धी काम गर्ने निकायका महानिर्देशक एसएन प्रधानले क्यालिकट विमानस्थलमा टेबलटप धावनमार्ग रहेको र विमान चिप्लिएपछि एउटा खोँचमा खसेर विमानको तल्लो भाग ठोक्किएर दुई टुक्रा भएको र विमानको अग्रभाग क्षतविक्षत र ध्वस्त भएको बताए ।

प्रतिक्रिया राख्‍नुहोस्

सम्बन्धित खबर

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker go get the website work properly.