जन सरोकार

सही समाचारको प्रभाव : क्षितिजले पाए ह्विल चियर र भत्ता कार्ड

मेचीनगर नगरपालिका– ३ दोकान डाँडाका पक्षघातका रोगी १६ वर्षीय क्षितिज राईले ‘क’ वर्गको रातो अपाङ्ग कार्ड र ह्विल चियर पाएका छन् । राष्ट्रिय समाचार समिति (रासस)मा ‘क्षितिजलाई न अपाङ्ग भत्ता न ‘ह्विल चियर’ भन्ने शीर्षकमा समाचार छापिएपछि उहाँले सो सुविधा पाउनुभएको हो ।

समाचार सार्वजनिक भएपछि मेचीनगर नगरपालिकाले उहाँलाई रातो कार्ड बनाइदिएको छ भने लायन्स क्लब अफ भद्रपुरले ह्विल चियर प्रदान गरेको छ । रातो कार्ड पाएसँगै उहाँले अब ‘क’ वर्गको अपाङ्ग भत्ताबापत मासिक रु तीन हजार पाउने भएका छन् ।

राससमा आएको समाचार विभिन्न पत्रिका, अनलाइन र रेडियोमा समेत प्रसारण भएपछि उहाँलाई ह्विल चियर प्रदान गर्न धेरैले इच्छा देखाएका थिए ।

लायन्स क्लब आफ भद्रपुरका अध्यक्ष योगेन्द्र पौडेल, विजय डालमिया, गोपाल खनाल र प्रकाश उप्रेती क्षितिजका घरमा ह्विल चियर लिएर पुगेका थिए । मेचीनगर–३ का वडाध्यक्ष हर्क बस्नेतले क्षितिजको घरमै पुगेर उहाँको जन्म प्रमाणित गर्न आउन हजुरबुबा कुमार लिम्बूलाई आग्रह गर्नुभएको थियो ।

वडा कार्यालयबाट जन्म प्रमाणित र सरकारी अस्पतालबाट दिइएको स्वास्थ्य प्रतिवेदनका आधारमा आज मेचीनगर नगरपालिकाको अपाङ्ग समन्यव समितिले उहाँलाई रातो कार्ड उपलब्ध गराएको हो । वडाध्यक्ष बस्नेतले अब यही आर्थिक वर्षदेखि उहाँले ‘क’ वर्गको अपाङ्ग भत्ताबापत मासिक रु तीन हजार पाउने बताउनुभयो । सोह्र वर्षदेखि निरन्तर नातिको हेरचाह गर्दै आउनुभएकी हजुरआमा चन्द्रमाया लिम्बूले वर्षौंदेखि उल्टो मुडामा बस्दै आएको नातिले ह्विल चियर र परिचयपत्र पाउँदा खुशी लगोको बताउँदै ह्विल चियरले अब क्षितिजलाई भित्रबाहिर गराउन सजिलो हुने तथा भत्ता पनि पाउन सक्ने भयो भन्नुभयो ।

जन्मिएको सात महिनामै बाबु बेपत्ता भएको र आमासमेत रोजगारीको सिलसिलामा कतारमा रहेपछि उहाँको हेरचाह मावलीकी हजुरआमाले गर्दै आउनुभएको थियो । बोली नआउने र हात खुट्टासमेत नचल्ने उनी सात महिनामै निमोनियाको रोगी भएका थिए । त्यही रोगले उनलाई शारीरिकरुपमा अशक्त बनाएको उनकी हजुरआमा चन्द्रमायाले बताउनुभयो ।

प्रतिक्रिया राख्‍नुहोस्

सम्बन्धित खबर

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker go get the website work properly.