जन सरोकार

जुरे पहिरो पीडितले सात वर्षमा पनि राहत पाएनन्

दाताले दिएको रु दुई करोड २४ लाख राहत रकम सात वर्षसम्म सरकारी खातामा बस्यो

आज भन्दा सात वर्षअघि साउन १७ गते सिन्धुपाल्चोकको जुरेमा माथिबाट पहाड खस्दा सिङ्गो बस्ती पुरियो भने १ सय ४५ को ज्यान गयो, सयौँ विस्थापित भए । तर जुरे पहिरो पीडितले अहिलेसम्म पनि न्याय पाएका छैनन् ।

पहिरापीडितका लागि देश विदेशबाट दाताले दिएको रु दुई करोड २४ लाख राहत रकम सात वर्षसम्म सरकारी खातामा रोक्का भएर बस्यो । पहिरापीडितले राहत रकमका लागि पटकपटक जिल्ला प्रशासन कार्यालय र गृह मन्त्रालयसम्म पनि धाए । सात वर्षसम्म पनि जसका नाममा पैसा सङ्कलन भयो उनीहरुले नै पाएनन् । नत उनीहरुका लागि पुनःबासको योजनाले नै मूर्तरुप लिनसक्यो ।

सात वर्ष बित्दासमेत आफुहरुको समस्या समाधानका लागि सरकारी तवरबाट केही प्रयास नभएकाले जुरे पहिरापीडित बलेफीका रामबहादुर तामाङले आक्रोश पोख्नुभयो । पीडितको राहत रकम वितरणका लागि गृह मन्त्रालयदेखि जिल्लाका समितिले समेत अध्ययन समिति गठन ग¥यो ।

तत्कालीन जिल्ला दैविप्रकोप व्यवस्थापन समितिका प्रतिनीधिसमेत रहेका गैह्रसरकारी संस्थाका अध्यक्ष सोम सापकोटा, पत्रकार महासङ्घका अध्यक्ष युवराज पुरी र नापी कार्यालय प्रमुख शरद मैनालीको अध्ययन समितिले राहत वितरण गर्न प्रतिवेदन पेश गरिएको समितिका सदस्य सापकोटाले बताउनुभयो ।

त्यसपछि गृह मन्त्रालयको सहसचिवस्तरीय टोलीले समेत स्थलगत अध्ययन गरेको बलेफी– ८ का वडाध्यक्ष चरीबहादुर तामाङले सुनाउनुभयो । निर्वाचित प्रतिनिधिले राहत उपलब्ध गराउन प्रयत्न पनि गरे तर सार्थक हुन सकेन । “हामीले पीडितको नाममा रहेको राहत वितरण गर्न जिल्ला प्रशासनलाई आग्रह ग¥यांै, दबाब दियौँं, ज्ञापनपत्र बुझायौँ, तर पनि पीडितको सहयोग वितरण भएको छैन”, बलेफी गाउँपालिका अध्यक्ष केदार क्षेत्रीले भन्नुभयो ।

विसं २०७१ साउन १७ गते बिहान ३ः०० बजे बलेफी गाउँपालिका, बाह्रबिसे नगरपालिका र त्रिपुरासुन्दरी गाउँपालिकाको सिमानामा ठूलो पहिरो गएको हो । तीनै वटा स्थानीय तहमा ठूलो मानवीय र भैतिक क्षति भयो । अरनिको राजमार्ग पूर्ण रुपमा लामो समय बन्द रह्यो ।

भोटेकोशी र सुनकोशी नदीको सङ्गमस्थलबाट लगभग चार किलोमिटर दूरीमा पर्ने जुरेमा पहिराले १८ घण्टा नदी थुनिँदा जुरे आसपास आक्रान्त भएको थियो । सुनकोशी नदी तटिय क्षेत्रका लामोसाँघु, खाडीचौर, बलेफी, सुकुटेदेखि काभ्रेपलाञ्चोक र सिन्धुलीसम्मका नागरिक लामो समयसम्म त्रासमा रहे । बाह्रबिसे बजारसम्म थुनिएको नदीले डुबाउने सम्भावना बढेपछि बजार र बस्ती पूरै खाली गरिएको थियो । सानीमा हाइड्रो पावर र सुनकोशी हाइड्रो पावरको ड्यामसहित पावर हाउससम्म क्षति पुगेको थियो ।

प्रतिक्रिया राख्‍नुहोस्

सम्बन्धित खबर

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker go get the website work properly.