कर्णालीप्रदेश

कर्णाली प्रदेशसभा : विपद् प्रतिकार्यसहित लागुऔषध नियन्त्रण गर्न प्रदेश सरकारको ध्यानाकर्षण

कर्णाली प्रदेशसभा सदस्यले मनसुनजन्य विपद्को प्रतिकार्यदेखि लागु औषध नियन्त्रण गर्न प्रदेश सरकारको ध्यानाकर्षण गराएका छन् ।

कर्णाली प्रदेशसभाको दोस्रो कार्यकालको आठौँ अधिवेशनको २६औँ बैठकको शून्य समयमा बोल्दै प्रदेशसभा सदस्य बेदराज सिंहले वर्षाको समयमा आउने बाढी पहिरो जस्तो विपद्का कारण कर्णाली प्रदेशका दशवटै जिल्ला पुग्ने बाटो बन्द हुँदै गएको उल्लेख गर्नुभयो ।

अवरुद्ध बाटो सुचारु गर्न, नागरिकको आवातजावतका लागि सहज वातावरण बनाउन र क्षतिपूर्तिका लागि प्याकेजमा राहतको कार्यक्रम ल्याउन सरकारको ध्यानाकर्षण गर्नुभयो ।

प्रदेशसभा सदस्य सन्तोषी शाहीले सुर्खेतमा लागु औषधबाट एक युवाको ज्यान गएकोबारे सरकारको ध्यानाकर्षण गराउँदै यसको नियन्त्रणका लागि विशेष अभियान थाल्न, पुनःस्थापना केन्द्रको स्थापना र यस विरुद्ध कडा कदम चाल्नुपर्नेमा जोड दिनुभयो ।

सदस्य इन्द्राकुमार शाहीले ग्यास अभाव, महङ्गीले ढाड सेकिरहेको रहेको बताउँदै सिर्जना गरिएको कृत्रिम अभाव र कालो बजारीको अनुगमन गरी उपभोक्तालाई ग्यासको आपूर्ति र वितरण प्रणालीमा सहज बनाउन अनुरोध गर्नुभयो ।

त्यस्तै, अर्का सदस्य कल्याणी खड्काले अविरल वर्षाका कारण रुकुमपश्चिममा बाढी पहिरोबाट भएको क्षतिबारे सरकारको ध्यानाकर्षण गराउँदै दीर्घकालीन र प्रभावकारी योजना कार्यान्वयनमा लाग्न र डिजिटल हिंसा नियन्त्रणका लागि सचेतनाका कार्यक्रम सञ्चालन गर्न सरकारसँग माग गर्नुभयो ।

सदस्य उर्मिला विश्वकर्मा सामाजिक सञ्जालको दुरुपयोगका कारण एकीकृत कृषि प्रयोगशाला सुर्खेतमा कार्यरत चन्द्रा सिंहले ज्यान गुमाएको प्रकरणको लागि आवश्यक अनुसन्धानमा सरकार गम्भीर भएर लाग्नुपर्नेमा जोड दिनुभयो ।

त्यस्तै, प्रदेशसभा सदस्य बीरबहादुर शाहीले डोल्पा जिल्लाका विभिन्न ठाउँमा गएको बाढी पहिरो र त्यसले पुर्याएको क्षतिबारे सरकारको ध्यानाकर्षण गर्नुभयो ।

प्रदेशसभा सदस्य बिनोदकुमार शाहले कर्णाली प्रदेश लोकमार्ग सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक विचारार्थ अर्थ तथा प्राकृतिक स्रोत समितिमा फिर्ता गर्नुपर्ने धारणा राख्नुभयो ।

सभामुख नन्दा गुरुङले बैठकमा मुख्यमन्त्री मङ्गलबहादुर शाहीललाई उक्त विधेयक कर्णाली प्रदेशसभा नियममावली २०८१ को १२९ उपनियम २ को खण्ड(ख) बमोजिम विचारार्थ सोही समितिमा पठाउन सभामा प्रस्ताव गर्न समय दिनुभयो ।

मुख्यमन्त्री शाहीले पेश गरेसँगै उक्त प्रस्ताव सभाबाट स्वीकृत भएको थियो । सभामुख गुरुङले सभाको अर्को बैठक यही साउन २६ गते दिउसो ३ः०० बस्ने जानकारी दिनुभयो ।

प्रतिक्रिया राख्‍नुहोस्

सम्बन्धित खबर

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker go get the website work properly.