क्रिकेटखेल

पारसको ७७ नं.को जर्सी अमूल्य

हालै मात्र अन्तर्राष्ट्रिय खेल जीवनबाट सन्यास लिएका नेपाली खेलकूद क्षेत्रकै सबैभन्दा सफल खेलाडी र कप्तानका रुपमा चिनिएका क्रिकेटका पूर्व कप्तान पारस खड्कालाई नेपाल क्रिकेट संघ (क्यान)ले उच्च स्मान दिएको छ ।

गत मङ्गलबार अन्तर्राष्ट्रिय क्रिकेटबाट सन्यास लिनुभएका नेपाली टोलीका पूर्वकप्तान पारस खड्काले ७७ नंको जर्सी प्रयोग गर्दै आउनुभएको थियो । क्रिकेटबाट सन्यास लिएको अवस्थामा उहाँले प्रयोग गर्ने गरेको ७७ नंको जर्सी अब कुनै पनि नेपाली राष्ट्रिय क्रिकेट टोलीका खेलाडीले प्रयोग गर्न पाउने छैनन् । खड्काले प्रयोग गर्दै आएको ७७ नंको जर्सी राष्ट्रिय क्रिकेट टोलीका अन्य खेलाडीलाई प्रयोग गर्न नदिइने भएको छ ।

क्यानको आइतबार बसेको पदाधिकारी बैठकले खड्काको सम्मानमा क्रिकेट खेल्दा उहाँले प्रयोग गर्दै आएको ७७ नंको जर्सी राष्ट्रिय टोलीका कुनै पनि खेलाडीलाई तत्काल प्रयोग गर्न नदिने निर्णय गरेको हो । “खड्काको सम्मानमा ७७ नम्बरको जर्सी तत्काल कुनै पनि खेलाडीलाई प्रयोग गर्न नदिने सहमति भएको छ,” क्यान अध्यक्ष चतुरबहादुर चन्दले भन्नुभयो । खड्काले नेपालको क्रिकेटमा पु¥याएको योगदानको कदर गर्दै क्यानले सो निर्णय गरेको हो ।

क्यानले हालै अन्तर्राष्ट्रिय क्रिकेटबाट सन्यास लिनुभएका खड्काको सम्मानमा उक्त सहमति जनाएको हो । नेपालले ३३ वर्षीय खड्काको कप्तानीमा आसीसी विश्व क्रिकेट लिग डिभिजन–५ देखि एकदिवसीयसम्मको सफलता प्राप्त गरेको थियो । खड्काले नै कप्तानी गरेको अवस्थामा नेपालले सन् २०१४ मा टी–२० विश्वकप क्रिकेट खेलेको थियो ।

सन् २००२ मा युनाइटेड अरब इमिरेटस् (युएई) मा सम्पन्न यू–१५ एसिया क्रिकेट कपमा खड्का पहिलोपटक नेपाली टोलीमा सहभागी हुनुभएको थियो । सन् २००४ मा उहाँले सिनियर टोलीमा डेब्यू गर्नुभएको थियो । उहाँले सन् २००४, सन् २००६ र सन् २००८ मा यू–१९ विश्वकप क्रिकेट प्रतियोगिता खेल्नुभएको थियो । खड्का सन् २००९ मा विनोद दासको ठाउँमा राष्ट्रिय टोलीको कप्तान बन्नुभएको हो । दुई वर्षअघि उहाँले कप्तानीबाट राजीनामा दिनुभएको थियो ।

खड्काले नेपालका लागि १० एकदिवसीय तथा ३३ टी–२० अन्तर्राष्ट्रिय खेल खेल्नुभयो । दायाँहाते ब्याटस्म्यान उहाँले यस क्रममा एकदिवसीयमा ३१५ रन बनाउनुभयो भने टी–२० मा ७९९ रन बनाउनुभएको थियो ।

दुवै किसिमका प्रतियोगितामा उहाँ शतक प्रहार गर्न सफल हुनुभएको थियो । खड्काले बलिङसमेत गर्नुभएको थियो । उहाँले १० एकदिवसीय खेलमा नौ विकेट लिनुभएको थियो भने ३३ टी–२० खेलमा आठ विकेट लिनुभएको थियो ।

हाल खड्काको ठाउँमा नेपाली राष्ट्रिय क्रिकेट टोलीको कप्तानी ज्ञानेन्द्र मल्लले गर्दै आउनुभएको छ । यसअघि नेपाली राष्ट्रिय क्रिकेट टोलीको कप्तानको भूमिका उत्तम कर्माचार्य, लेखबहादुर (एलबी) क्षेत्री, पवन अग्रवाल, राजु खड्का र परेश लोहनीले निर्वाह गरिसक्नुभएको छ ।

प्रतिक्रिया राख्‍नुहोस्

सम्बन्धित खबर

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker go get the website work properly.