विश्व समाचार

अफगानिस्तान पुनः गृहयुद्धतिर

एकैदिनमा थप पाँच सय ७० जना विद्रोही मारिए, अर्को प्रान्तीय राजधानी कब्जा गरेको तालिबानको दावी

अमेरिकी सेना फिर्तासंगै पुनः युद्ध भड्किएको अफगानिस्तानमा सुरक्षा कारबाहीका क्रममा एकैदिनमा थप ५ सय ७० जना विद्रोही लडाकूहरुको मृत्यु भएको त्यहाँको रक्षा मन्त्रालयले जनाएको छ ।

पछिल्लो २४ घण्टामा भएका घटनामा परी प्रतिबन्धित तालिबान लडाकूहरु मारिएका सोमबार जानकारी दिएको छ । घटनामा परी अरु १६१ जना घाइते भएको सरकारी अधिकारीहरुले जनाएका छन् ।

देशका नान्गार्हार, खोस्ट, लोगार, पाक्टिया, कान्दाहार, हेरात, फाराह, जोब्जान, सामाङगान, हेल्मान्ड, तखार, कुन्दुज र पन्ज्शीरलगायतका क्षेत्रमा घटना भएका हुन् ।

यसबीच तालिबानले अर्को प्रान्तीय राजधानी पनि कब्जा गरेको दावी गरेको छ । उनीहरुले तखार प्रान्तको राजधानी तालुकान आइतबारदेखि नियन्त्रणमा लिएको दाबी गरेका हुन ।

राजधानी कब्जामा लिएसँगै तखार प्रान्तका धेरै सार्वजनिक संरचना निष्क्रिय जस्तै भएका छन् । “मुख्य ठाउँ नै नियन्त्रणमा लिएपछि प्रान्त नै निष्क्रिय हुने नै भयो”, स्रोतलाई उल्लेख गर्दै तोलो न्युजले लेखेको छ । उनीहरुले प्रान्तीय प्रहरी कार्यालय समेत नियन्त्रणमा लिएको जनाइएको छ ।

तालिबान लडाकूहरुले यसअघि अरु तीन प्रान्तीय राजधानी पनि नियन्त्रणमा लिइएको घोषणा गरेका थिए । यो समेत गरी उनीहरूले अफगानिस्तानका चार प्रान्तीय राजधानी कब्जा गरेका छन् । तर सो क्षेत्रमा तालिबानी र अफगान सेनाबीच सङ्घर्ष भने जारी नै रहेको जनाइएको छ ।

पछिल्लो तीन दिनमा चार प्रान्तीय राजधानी आफूहरूले कब्जामा लिएको लडाकूहरूले सोमबार दाबी गरेका छन् । लडाकूहरूले यसअघि देशको कुन्दुज प्रान्तको राजधानी नियन्त्रणमा लिएको दाबी गरेका हुन् । उनीहरूले कुन्दुज प्रान्तको प्रहरी मुख्यालय, गभर्नरको कार्यालय, कारागारलगायत पनि नियन्त्रणमा लिएको जानकारी दिएका छन् ।

तालिबान लडाकूहरूले त्योभन्दा अगाडि शबरगान र जारान्ज प्रान्तीय राजधानीहरू नियन्त्रणमा लिइएको दाबी गरेका थिए । सुरुमा गत शुक्रबार तालिबानले दक्षिण पश्चिमी प्रान्त निम्रोेजको राजधानी जारान्ज कब्जामा लिएको र त्यसपछि उत्तरी क्षेत्रको जोजन राज्यको राजधानी शबरगान सहर आफ्नो नियन्त्रणमा आएको तालिबानले जनाएको छ ।

पश्चिमको हेरात, दक्षिणको कान्दाहार र लस्कर गाहसहितका प्रमुख सहर पनि क्रमशः आफ्नो नियन्त्रणमा लिँदै जाने तालिबानको रणनीति रहेको तालिबान समूहका एक कमाण्डरले बताएका छन् ।

अफगानिस्तानको रक्षा मन्त्रालयका प्रवक्ताले भने सरकारी सुरक्षाकर्मी अहिले पनि सहरमा रहेको र चाँडै नै तालिबान लडाकूलाई हटाउने दाबी गर्नु भएको छ ।

प्रतिक्रिया राख्‍नुहोस्

सम्बन्धित खबर

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker go get the website work properly.