अन्यत्र वृद्धवृद्धा खोपका लागि चर्को घाममा घण्टौं लाइन बस्दा नोमुबद्धमा भने घरघरमै खोप
कोरोना भाइरस बिरुद्धको खोप कोभिसिल्डको पहिलो मात्रा लगाएर दोस्रा मात्रा लगाउन नपाएका ज्येष्ठ नागरिकसहित अन्यलाई हिजो (सोमबार)बाट अस्ट्राजेनिकाको खोप लगाउन सुरु गरिएपछि ज्येष्ठ नागरिकहरुले खोपका लागि निकै सकस भोगेका दृश्य देखियो ।

ज्येष्ठ नागरिकलाई पनि युवा वा उमेरदार जस्तै लाइन लगाएर खोप लगाउन जानुपर्ने अवस्थाकाबीच काभ्रेपलाञ्चोकको नमोबुद्ध नगरपालिकाले ज्येष्ठ नागरिकलाई कोरोना विरुद्धको खोप घरघरमा लगाइ उत्कृष्ट सेवा प्रदान गरिरहेको छ ।
नमोबुद्ध –८ का १०२ वर्षीय अमन्तीनाथ हुमागाईँले आफ्नै निवासमा सोमबार कोभिशिल्डको दोस्रो मात्रा खोप लगाएपछि भन्नुभयो “ आज म खुशी छु । नगरपालिकालाई धन्यवाद दिन चाहन्छु ।”
उहाँलाई नगरपालिकाको स्वास्थ्यकर्मी टोलीले घरमै पुगेर खोप लगाइदिएको थियो । सोही अवसरमा नगरप्रमुख टङ्कप्रसाद तिमल्सिनाले उहाँलाई खोप कार्ड प्रदान गर्दै ६५ वर्षदेखि १०२ वर्षसम्मका नागरिकलाई घरमै पुगे खोप लगाउने व्यवस्था मिलाएको जानकारी दिनुभयो ।
नगरप्रमुख तिमल्सिना स्वास्थ्यकर्मी लिएर ज्येष्ठ नागरिकको घरघरमा पुगेर खोप लगाउने अभियानमा तल्लीन हुनुहुन्छ । नगरपालिकाले गत फागुन २३ देखि २९ गतेसम्म पनि पहिलो चरणको खोप अभियानका शुरुआत गरेको थियो । नगरपालिकामा ६५ वर्षमाथि एक हजार ७०७ नागरिक रहेका बताइएको छ ।
नगरका ११ वटै वडामा खोप केन्द्र तोकिएको छ उहाँले भन्नुभयो, “कोही नागरिक खोपबाट बञ्चित हुन नपरोस् भन्ने उद्देश्यसहित अभियान चलाइरहेका छौँ ।” नगरपालिकाले ज्येष्ठ नागरिकलाई खोपसँगै मास्क, स्यानिटाइजर र च्यावनप्रासलगायतका स्वास्थ्य सामग्रीसमेत वितरण गरेको छ ।
आइसोलेसनमा बिरामीको चाप बढ्यो
पछिल्लो समय कोभिड–१९ बाट सङ्क्रमित हुनेको सङ्ख्या बढ्न थालेसँगै नमोबुद्ध–४ मा स्थापना गरिएको आइसोलेशन केन्द्रमा सङ्क्रमितको चाप बढेको छ । पछिल्लो एक सातामा केन्द्रमा लक्षणसहितका बिरामीको चाप ह्वात्तै बढेको बताइएको छ । नमोबुद्ध नगरपालिका र रोशी गाउँपालिकाद्वारा संयुक्तरूपमा सञ्चालन गरिएको केन्द्रमा हाल १४ कोभिडका बिरामी रहेको केन्द्रका प्रमुख मथुरा सत्यालले जानकारीदिनुभयो । स्वास्थ्य कार्यालय काभ्रेका अनुसार सोमबार मात्रै ७५ जनामा सङ्क्रमण पुष्टि भएको जनाइएको छ ।
प्रतिक्रिया राख्नुहोस्