राजनीति

एक महिना केही नगरेको सरकारलाई बधाई : ओली

लिम्पियाधुरा, लिपुलेक, कालापानी वार्ताद्वारा फिर्ता ल्याउँछु भनेर किन भन्न सक्नुभएन

पूर्व प्रधानमन्त्री तथा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले नयाँ सरकारले जनताको भावना अनुसार काम गरोस् भन्ने सदिच्छा रहेको तर एक महिनासम्म जनताको चाहना अनुसार सरकारले केही काम नगरे पनि अघिल्लो सरकारले गरेका राम्रा कामलाई पूर्वग्रही ढंगले रोक्न खोजेको भन्दै व्यंगात्मक रुपमा बधाई दिनुभएको छ ।

प्रतिनिधिसभाको आजको बैठकमा विशेष समय मागेर बोल्दै ओलीले अघिल्लो सरकारले अघि बढाएका कार्यक्रमलाई निरन्तरता दिनुपर्नेमा जोड दिँदै उहाँले खराब नियत राखेर कतिपय कार्यक्रम अघि बढाउन नचाहेपछि बाध्यताले केही कार्यक्रमलाई निरन्तरता दिन आनाकानी गरिएको गुनासो गर्नुभयो ।

अध्यक्ष ओलीले नीति, कार्ययोजना, लक्ष्य र त्यही अनुसारकै व्यवहार र प्रयास आफ्नो नेतृत्वको सरकारले गरेको जिकिर गर्नुुभयो ।

उहाँले समृद्ध नेपालको राष्ट्रिय आकांक्षा प्राप्त गर्न आफ्नो पार्टीले उदार र फराकिलो भावनाका साथ चुनावी तालमेल र पार्टी एकीकरण गरेको जानकारी दिनुभयो । उहाँले विगतमा प्रतिपक्षसँग पनि संवाद सहमतिको सम्मानपूर्ण अभ्यास गरिएको जिकिर गर्नुभयो । त्यो बेला सहकार्य गरेर अघि बढ्ने नीति पनि लिइएको उहाँले जानकारी गराउनुभयो ।

विगतमा गलत कुरासँग कुनै सम्झौता नगर्दा कतिपयको अपेक्षा पूरा नभएको तथा ‘म भ्रष्टाचार गर्दिनँ र अरुलाई पनि भ्रष्टाचार गर्न दिन्नँ’ भन्दा कतिलाई धक्का पुगेको र त्यही कारण आफ्नै पार्टीभित्र पनि धक्का पुगेको उहाँले बताउनुभयो ।

नेता ओलीले आफू देश र जनताको सेवाको निम्ति जन्मिएको तर प्रधानमन्त्री हुन नजन्मिएको जिकिर गर्नुभयो । काम गर्र्दै जाँदा प्रधानमन्त्री भएको र अब पनि जनताको जनमतमार्फत मूल ढोकाबाटै सरकारमा सहभागी हुने उहाँको भनाइ थियो । उहाँले आफूमाथि विश्वास गरेर सुम्पिएको जिम्मेवारी खोसिएको र त्यस्तो राजनीतिमा कहिलेकाहीँ हुने पनि बताउनुभयो ।

उहाँले अदालतको निर्णयमाथि बहस हुँदै जाने विश्वास व्यक्त गर्दै प्रधानमन्त्रीबाट हट्नुपरेकोमा चिन्ता छैन भन्नुभयो । “अदालत जस्तो सबैले विश्वास गर्ने जनताको भरोसाको संस्था असन्तुलित नहोस् भन्नेमा मात्रै मेरो चिन्ता हो, लोकतान्त्रिक प्रणालीका संस्था आ–आफ्नो मर्यादामा बसेर काम गरोस् भन्नेमा मात्रै मलाई चिन्ता छ”, उहाँले भन्नुभयो ।

उहाँले अहिले राष्ट्रिय उद्देश्यमा केन्द्रित भएको सरकारको आवश्यकता औँल्याउनुभयो । अघिल्लो सरकारले धेरै राम्रो काम गरेको तथा छिमेकीसँग सन्तुलित व्यवहार गरिएको र राष्ट्रिय सम्मानलाई झुक्न नदिएको उहाँको जिकिर थियो । अहिले सत्ता र प्रतिपक्ष संवादहीन अवस्थामा पुगेको उहाँले बताउनुभयो । कतिपय कामलाई अहिलेको सरकारले नचाहेर पनि निरन्तरता दिएको उहाँले बताउनुभयो ।

संयुक्त सरकारको न्यूनतम साझा कार्यक्रमको सन्दर्भमा अध्यक्ष ओलीले संसद् छलेर उक्त कार्यक्रम किन आयो भनी प्रश्न गर्नुभयो । अमेरिकाको मिलेनियम च्यालेन्ज कर्पाेरेशन (एमसिसी) को बारेमा नेपाली जनताले जान्न चाहेको उल्लेख गर्दै अध्यक्ष ओलीले भन्नुभयो, “प्रधानमन्त्रीज्यू एमससिसीको बारेमा के गर्नुहुन्छ ? लिम्पियाधुरा, लिपुलेक, कालापानी वार्ताद्वारा फिर्ता ल्याउँछु भनेर किन भन्न सक्नुभएन ?” अध्यक्ष ओलीले द्वन्द्वपीडितलाई न्याय दिन पनि आग्रह गर्नुभयो ।

प्रतिक्रिया राख्‍नुहोस्

सम्बन्धित खबर

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker go get the website work properly.