स्नातक र स्नातकोत्तर परीक्षामा सहभागी विद्यार्थीहरुलाई खोप दिइने
त्रिभुवन विश्वविद्यालयले सञ्चालन गरिरहेको स्नातक र स्नातकोत्तर तहको परीक्षामा सहभागी विद्यार्थीहरुलाई कोभिड–१९ विरुद्धको खोप दिइने भएको छ ।

स्वास्थ्य सेवा विभागको बाल कल्याण तथा खोप महाशाखाका प्रमुख डा. झलक शर्मा गौतमका अनुसार त्रिविद्वारा सञ्चालित परीक्षामा सहभागी विद्यार्थीहरुलाई तत्काल खोप दिने निर्णय भएको हो ।
उहाँका अनुसार काठमाडौंको प्रहरी अस्पताल, सैनिक अस्पताल, सशस्त्र प्रहरी अस्पताल र राधास्वामी आइसोलेसन खोप केन्द्रमा गएर विद्यार्थीले खोप लगाउन पाउनेछन् । खोप लगाउने विद्यार्थीले अनिवार्य रुपमा प्रवेश पत्र साथमा लैजानु पर्नेछ ।
मन्त्रालयका अनुसार त्रिविले सञ्चालन गर्ने परीक्षामा करिब ६० हजार विद्यार्थी रहेको अनुमान गरेको छ । साउन २५ गते सत्तारुढ दल निकट पाँच विद्यार्थी संगठनहरुले स्वास्थ्य राज्यमन्त्री उमेश श्रेष्ठलाई भेटी परीक्षामा सहभागी हुने विद्यार्थीलाई खोपको व्यवस्था गर्न भन्दै ज्ञापनपत्र बुझाएका थिए ।
परीक्षा केन्द्रबाट संक्रमण फैलने त्रासले विद्यार्थीहरुमा मानसिक चिन्ता थपिएको भन्दै उनीहरुले परीक्षार्थीलाई खोपको व्यवस्था गर्न माग गरेका थिए ।
प्रतिक्रिया राख्नुहोस्