८१ वर्षीय वृद्धले ठगे ५८ लाख रुपैयाँ, पुगे नख्खु कारागार
उमेरले आठ दशक पार गरिसकेका ललितपुरको महालक्ष्मी नगरपालिका २ का एक वयोवृद्धलाई आधा करोड रुपैयाँभन्दा बढी ठगीको आरोपमा कारागार चलाउन गरिएका छन् ।
समाचार अनुसार महालक्ष्मी नगरपालिकाका ८१ वर्षीय रामप्रसाद पौड्याललाई ५८ लाखभन्दा बढी रकम ठगी गरेको आरोपमा अदालतको आदेश अनुसार रकम फिर्ता नगरेपछि बैंकिङ कसुरको मुद्दामा कारागार चलाउन गरिएको हो ।
लोकेन्द्र नारायण श्रेष्ठको जाहेरीमा उनलाई उच्च अदालत पाटनले बिगो बराबरको ५८ लाख २१ हजार जरिवाना र ७ दिन कैद सजाय र क्षतिपूर्ति शुल्कवापत २ लाख ३२ हजार ८४० रुपैयाँ समेत दिलाउन भन्दै १६ मंसिर २०७७ मा फैसला सुनाएको थियो ।
पौड्यालले एक महिनाभित्र फिर्ता दिन्छु भन्दै श्रेष्ठको ५८ लाख २१ हजार रुपैयाँ सापटी लगेका थिए । पटकपटक रकम फिर्ताका लागि मागेपछि उनले सनराइज बैंकको खाताबाट दुई वटा चेकमार्फत ५८ लाख २१ हजार रकम उल्लेख गरेर दिएका थिए । उक्त चेक बाउन्स भएपछि श्रेष्ठले कानुन प्रक्रिया अघि बढाएका थिए ।
झम्सी खेलबाट पक्राउ परेका ८१ वर्षीय वृद्ध पौड्यालाई फैसला कार्यान्वयनका लागि ललितपुरको नख्खु कारागार पठाइएको छ । पौड्यालले सात दिनको कैद भुक्तान गरे पनि जरिवाना र क्षतिपूर्ति वापतको रकम नतिरेको अवस्थामा भने थप कैद बस्नुपर्ने हुन्छ ।
प्रतिक्रिया राख्नुहोस्