कर्पोरेट/पर्यटन

सिन्धुलीगढी युद्ध संग्रहालय निर्माणको काम लम्बियो (भिडियोसहित)

नेपालले बेलायती साम्राज्यलाई पराजित गरी राष्ट्रिय स्वाधीनता कायम गरेको सिन्धुलीगढीमा निर्माणाधीन ऐतिहासिक राष्ट्रिय युद्ध सङ्ग्रहालय बन्दीबन्दीले प्रभावित भएको छ । नेपाल कब्जा गर्न आएको अङ्ग्रेज फौजलाई हराएर इतिहास कायम गरेको सिन्धुलीगढीमा नेपाली सेनाले सङ्ग्रहालय निर्माण कार्य करिब चार महिना लामो बन्दाबन्दीले प्रभावित भएको हो ।

ऐतिहासिक सिन्धुलीगढीको संरक्षणार्थ स्वामित्वकर्ता कमलामाई नगरपालिका सिन्धुलीले निर्माण गरेको पार्क नजिक सङ्ग्रहालय निर्माण कार्य सुरु गरेको थियो । विसं २०७६ मङ्सिर पहिलो साताबाट सङ्ग्रहालयको निर्माणको काम सुरु भएको सेनाको बर्दबहादुर गणका गणपति विजय थापाले बताउनुभयो । उहाँका अनुसार ऐतिहासिक राष्ट्रिय युद्ध सङ्ग्रहालय निमार्ण कार्य अहिलेसम्म ४५ प्रतिशत मात्र काम सम्पन्न भएको छ ।

पुरातत्व विज्ञहरू र मेगा सिभिल कन्सल्टेन्ट प्राइभेट लिमिटेडले तयार पारेको सङ्ग्रहालयको नक्साङ्कन, ढाँचाकै आधारमा २०७७ असार मसान्तसम्म सम्पन्न गर्ने लक्ष्यका साथ शुरु भएको काम बन्दाबन्दीको कारण निर्धारित समयमा सम्पन्न हुन नसकेको गणपति थापाले बताउनुभयो । विसं २०७७ असोज मसान्तसम्म सङ्ग्रहालय निर्माण सक्ने गरी काम भई रहेको पनि उहाँले जानकारी दिनुभयो ।

सङ्ग्रहालय पुरानो र नयाँ मिश्रित ढाँचामा निर्माण भइरहेको छ । सङ्ग्रहालयभित्र वृत्तचित्रमार्फत गढीको ऐतिहासिक सामरिक महत्व प्रदर्शन गर्न सकिने थिएटर, तत्कालीन समयमा सेनाले प्रयोग गरेका घरेलु हातहतियार, तोप, गोला, तत्कालीन युद्धकालीन समयमा घरेलु सेना र विपक्षी सेनाले लगाउने गरेको पोसाक प्रदर्शनका लागि कास्टेरिया, गढी अवलोकनका लागि आउने आन्तरिक वा बाह्य पर्यटकले उपहार स्वरूप लानसक्ने वस्तुहरू उपलब्ध उपहार कक्षलगायत रहने बताइएको छ ।

करिब चार हजार ९२० वर्ग फिट क्षेत्रफलमा निर्माण हुने एकतले छ कोठे सङ्ग्रहालयको कुल लागत रु चार करोड ५० लाख रहेको कमलामाई नगरपालिकाका नगर प्रमुख खड्क खत्रीले जानकारी दिनुभयो । गढी दरबार बनाउनका लागि प्रदेश सरकाले रु चार करोड बजेट विनियोजन गरेको छ । कमलामाई नगरपालिका–३ मा रहेको गढीमा पर्यटक भित्र्याउन सङ्ग्रहालयले महत्वपूर्ण भूमिका खेल्ने नगरपालिकाले जनाएको छ ।

सम्बन्धित खबर

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker go get the website work properly.